हेटौँडा, २ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न उद्योगी, व्यवसायीहरुसँग आग्रह गर्नुभएको छ ।

बिहीबार ललितपुरमा छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई बिस्तार गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न आग्रह गर्नुभएको हो ।

स्वदेशमै उपलब्ध कच्चा पदार्थ, श्रोत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमा उत्पादित सामग्री निर्यात गर्ने र विदेशी मुद्राको आर्जन, रोजगारी बिस्तार गर्नमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रका योगदान महत्वपूर्ण रहेको भन्दै निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादन, रोजगारीको सिर्जना बढाएको दाबी गर्नुभयो ।

उहाँले अर्थतन्त्रका समस्या र चुनौतिको सामना गर्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई सुचारु राख्न सरकार र निजी क्षेत्रले उचित समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो रहेको बताउनुभयो ।