श्रीकृष्ण पुडासैनी
हेटौँडा, ३१ साउन ।
ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ का किसानले सहकारी संस्था र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट आफूहरु कृषि अनुदानमा ठगिएको बताएका छन् ।

अमर साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत गोठसुधार तथा बोयर बोका वितरण कार्यक्रममा सम्झौताअनुसार रकम नदिइएर बदमासी भएको किसानहरुको आरोप छ । कार्यक्रममा जोडिएका १२ किसानमध्ये ११ किसानले मात्रै सुविधा पाएका छन् भने सुविधा पाएकामध्ये दुई किसानले रकम लगेका छैनन् ।

सहकारीका अनुसार बोयर बोका ११ वटा, बाख्रा ४० वटा र गोठ सुधारका लागि रकम दिइएका हो । र, सहकारी अध्यक्ष सरस्वती थापा मगरका अनुसार, भेटेनरी कार्यालयको इञ्जिनियरिङ स्टिमेट अनुसार रकम दिइएको हो ।

सेवा लिने किसान अमृत थिङ लामाले भने सहकारीले आफूहरुलाई एक लाख रुपैयाँ बराबरको अनुदान दिने स्टमेट गरेर ५७ हजार रुपैयाँ मात्र दिइएपछि बदमासी भएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समेत उजुरी दिनु भएको छ । उजुरीमा, सहकारीले गोठसुधार कार्यक्रममा किसानहरुसँग २० लाख ५ हजार ७ सय ६१ रुपैयाँको सम्झौता भएको र पछि किसानलाई थाहै नदिई भेटेनरी अस्पताल र सहकारीले स्टमेट परिवर्तन गरी प्रतिकिसान ४० हजार रुपैयाँ बराबरको रकम १२ किसानबाट ठगिएको उल्लेख छ । १२ किसानमध्ये एक किसानको स्टमेट नै नमिलेर रकम दिइएको छैन भने अरुले पनि पाउनु पर्ने रकम ६० हजार रुपैयाँ भन्दा बढी नपाइएको गुनासो छ । प्रशासनमा उजुरी परेपछि भेटेनरी कार्यालय, सहकारी संस्था र किसान तथा जनप्रतिनिधिहरुको सामुहिक छलफल पनि भएको थियो । किसानहरुले आफ्नो दाबी कायम राखेपछि विवाद अरु चुलिएको हो ।

भेटेनरी कार्यालयका इञ्जिनियर डा. आभाष कोइरालाले सहकारीले उपलब्ध गराएको स्टमेटअनुसार नै सम्झौता भएको र किसानलाई सहकारीमार्फत पैसा उपलब्ध गराइएको बताउनु भयो । भन्नुभयो, ‘सहकारीले उपलब्ध गराएको स्टमेटअनुसार हामीले बजेट पठाएका हौँ, सहकारीले किसानहरुसँग स्टमेट किन बदल्यो, हामीलाई केही भनिएको छैन ।’
यता भेटेनरी अस्पतालको भने फरक दाबी छ । सहकारीले शुरुमा गरेको स्टमेट र पछि बदलेको स्टमेटबारे किसानहरुलाई नबताउँदा समस्या आएको हो । प्रवक्तासमेत समेत रहनु भएका डा. कोइरालाले भन्नुभयो, ‘शुरुमा गरिएको स्टमेट बदली भएको र त्योबारे किसानहरुले थाहा नपाएका पाइएको छ, यसमा सहकारीले समयमा किसानलाई भन्न नपाइएको भनेर स्वीकार गरेको छ, रकममा कतै कहीँबाट तलमाथि भएको छैन ।’

ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सुमन श्रेष्ठका अनुसार, अनुगमनक्रममा छलफल गर्दा केही कमजोरी पाइएको छ । बोयर बोका र बाख्रा भनेर वडामा सिफारिस लिन आए पनि अनुगमनमा स्थानीय जातको बाख्रा सहकारीले दिइएको पाइएको वडाध्यक्ष श्रेष्ठले बताउनु भयो । ‘पठ्यांग्री दिने नाममा ६ सय रुपैयाँ प्रतिकिलो जोखेर उमेर कटेका बाख्री सहकारीले किसानले दिइएको पाइयो,’ श्रेष्ठले भन्नुभयो, ‘प्रजनन बेलाको बाख्रा भनेर पाठापाठी हुर्काइसकिएको बाख्रा दिइएको पनि भेटियो ।’

सेवा लिएका १२ किसानमध्ये ११ किसानले सेवा पाउँदा अमृत लामा र दिनेश सापकोटाले पैसा लगेका छैनन् । उनीहरुको दाबी छ, ‘सहकारी र भेटेनरी अस्पतालले सोझा किसानका नाममा बदमासी ग¥यो ।’

किसानहरुको उजुरीपछि मकवानपुर प्रशासनले भेटेनरी अस्पताललाई चिठी लेखेर रकम हिनामिना गर्ने अमर साना किसान कृषि सहकारी संस्था र संलग्न व्यक्तिको विवरण खुलाई पठाउन निर्देशन दिएको छ ।

तस्बिरः प्रशासनमा उजुरीपछि अनुगमनक्रममा भएको छलफलको हो । सरोकारवालाहरु सहभागी छन् ।