हेटौँडा, ३१ साउन । मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध गरेको धर्ना स्थगित भएको छ ।

प्रदेशमा प्रहरी समायोजनको माग राख्दै जारी धर्ना कार्यक्रम तेस्रो दिनमा स्थगित गरेको मुख्यमन्त्री लालबाबु राउतले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले पनि लामो समयदेखि लबिङ गर्दै आएको हुनाले वहाँको पनि पहलकदमीले माथि (संघीय सरकार)सँग कुराकानी सकारात्मक रूपमा भएको बताउनुभयो ।

उहाँले हामीले संविधानतः तत्काल प्रदेश सरकारले प्रदेशवासीको शान्ति सुरक्षा गर्न नसके पनि संघीय सरकारबाट सकारात्मक आश्वासन पाएपछि धर्ना कार्यक्रमलगायतका आन्दोलनका कार्यक्रमहरू स्थगित गरिएको स्पष्ट पार्नुभयो ।

साउन २९ देखिको धर्नामा मधेस प्रदेशका मुख्यमन्त्री राउतसहित मन्त्री र सांसदहरु समेत सहभागी हुँदै आएका थिए । प्रदेश प्रमुखको कार्यालयअगाडि एक सातासम्म चल्ने भनिएको धर्ना तेस्रो दिनमा स्थगित भएको हो ।

संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्वको स्थिति देखा पर्दै आएको छ।

पाँच वर्षसम्म शान्त रहेका प्रदेश सरकारले निर्वाचन नजिकिन थालेसँगै प्रदेश प्रहरी आफू मातहत माग्न थालेका छन् । तर संघीय सरकारले प्रदेश प्रहरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आनाकानी गर्दा स्थिति द्वन्द्व उन्मुख देखिएको हो।

संविधानप्रदत्त अधिकार उपयोगका लागि प्रदेश सरकारहरूले उत्कट चाहना देखाइरहेका छन् । यसअघि साउन २२ मा मधेस सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम ध्यानाकर्षण पत्र नै बुझाएको थियो ।