हेटौँडा, ३१ साउन । भक्तपुरको लोकन्थलीमा साढे दुई तल्ले घरको कम्पाउण्डको फलामे गेटले किचेर एक जना बालिकाको मृत्यु भएको छ ।

सोमबार दिउँसो साढे ४ बजे भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं.१ लोकन्थली रमाईलो चोकस्थित तिलक प्रसाद गौतमको साढे दुई तल्ले घरको कम्पाउण्डमा रहेको फलामे गेट अचानक पल्टिएर किच्दा ५ वर्षीय श्रीसिजा अर्याल गम्भीर घाइते भएकी थिइन् ।

सोही घरमा पाहुना आएकी श्रीसिजा अर्याल नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नं.८ घर भई हाल भक्तपुर बोडे बस्ने गौतम अर्यालकी छोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

घाइते बालिकालाई उपचारको लागि मध्यपुर अस्पताल भक्तपुरमा लगिएको र उपचारको क्रममा सोमबार दिउँसो ४ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।