हेटौंडा, २२ वैशाख ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संचारमाध्यमलाई उद्योगका रुपमा समेट्न माग गरेको छ ।

आज आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशलाई महासंघले प्रस्ताव पत्र बुझाउँदै यस्तो माग गरेको हो ।

महासंघका अध्यक्ष शिव देवकोटाले आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डे र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपाल समक्ष प्रस्ताव पत्र बुझाउँदै प्रदेशभित्र सयौं संचारमाध्यम दीर्घकाल संचालनका लागि प्रदेशले उद्योगमा समेट्न माग गर्नुभयो ।

उहाँले मन्त्रीद्वय समक्ष प्रदेशका सबै किसिमका संचारमाध्यमलाई उद्योगका रुपमा समेटेर प्रदेश सरकारले विभिन्न किसिमबाट तत्काल सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष देवकोटाले हाल प्रदेशभित्र सयौं मिडियामा करोडौं लगानी भएपनि उद्योगको रुपमा नसमेट्दा दीर्घकाल संचालन गर्न सक्ने अवस्था नभएको र समानुपातिक विज्ञापन उपलब्ध नहुँदा बारम्बार धरासायीमा पर्दै आएको मन्त्रीद्वय समक्ष जानकारी गराउनुभयो ।

महासंघले प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेटमा संचारग्राम निर्माण, पत्रकारका लागि विभिन्न चरणमा लेखनबृत्ति, तालिम, पत्रकारको क्षमताका विकासका लागि विविध योजना समेट्न ध्यानाकर्षणसहित प्रस्ताव पत्र पेश गरेको छ ।

प्रस्ताव पत्र बुझ्दै आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले संचारमाध्यम र पत्रकारका लागि आवश्यक योजनालाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी छलफल अघि बढाउने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले महासंघसँग सहकार्य गरेर पत्रकारका लागि तालिम, लेखनवृत्ति र क्षमता विकासका लागि नयाँ योजनालाई प्राथमितामा राखेर अघि बढ्न आफु तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले पत्रकारको हकहितका लागि प्रदेश सरकारले अघि बढाउन सक्ने योजनालाई प्राथमिकतामा राख्ने जिकिर गर्नुभयो ।
यसैगरी महासंघले सामाजिक विकास मन्त्री सरस्वती बस्नेत समक्ष कोरोनाको महामारीलाई मध्यनजर गर्दै अग्रपंक्तिमा खटिने पत्रकारका लागि स्वास्थ्य क्षेत्रबाट हुनसक्ने सबै सहयोग तत्काल अघि बढाउन माग गरेको छ ।


मन्त्री बस्नेतले महासंघले पेश गरेको प्रस्तावलाई आगामी नीति तथा कार्यक्रममा समेट्न आफ्नो तर्फबाट मन्त्रिपरिषद्मा छलफल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मन्त्रालयहरुमा पुगेको महासंघको डेलिगेशनमा उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्णसारु मगर, सदस्यहरु सुदीप शिवाकोटी र रामहरि गजुरेलको उपस्थिति रहेको थियो ।