हेटौँडा ,वैशाख २२ ।
हेटौंडामा जटिल श्वासप्रश्वाससम्बन्धी समस्या हुने कोरोना संक्रमितको उपचारका लागि अक्सिजन बैंक स्थापना गरिएको छ । मकवानपुरमा क्रियाशील लायन्स क्लबहरूको संयुक्त प्रयासमा अक्सिजन बैंक स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय परिसरमा स्थापना गरिएको अक्सिजन बैंकमा ३० सिलिण्डर अक्सिजन तयारी अवस्थामा राखिएको छ ।

कोरोना संक्रमित भइ अक्सिजनको व्यवस्थापन गर्न नसक्ने व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले अक्सिजन बैंकको स्थापना गरिएको हो । लायन्स क्लबका पदाधिकारी तथा सदस्यको आर्थिक सहयोगमा १० किलो तौलका ३० सिलिण्डर अक्सिजन तयार पारिएको अक्सिजन बैंक व्यवस्थापन उपसमितिका संयोजक राजेश वाग्लेले जानकारी दिनुभयो । लायन्स क्लबले जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वय, जिल्ला प्रहरी कार्यालय तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बी २ सँगको सहकार्यमा अक्सिजन बैंक सञ्चालनमा ल्याएको हो । अक्सिजन आवश्यक पर्ने बिरामीको आफन्तले डाक्टरको सिफारिस तथा सम्बन्धित वडाध्यक्षको पनि मौखिक सिफारिसमा जिल्ला प्रहरी कार्यालयबाटै अक्सिजन वितरण गर्ने व्यवस्था मिलाइएको छ ।