हेटौंडा, २२ वैशाख ।
नेपालमा २१ दिनको अवधिमा कोरोना संक्रमणदर १२ गुणाले बढेको पाइएको छ । गत वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन नेपालमा ६ सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।
त्यसको २१ दिनमा अर्थात् वैशाख २१ गते थप ७ हजार ६ सय ६० जनामा संक्रमण देखियो । वैशाख ७ गते नेपालमा १७ सय ३६ जना कोरोना संक्रमित थपिए ।
यसको एकसातामा अर्थात् वैशाख १४ गते ४५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो । यसको एकसातामा वैशाख २१ गते नेपालमा थप ७ हजार ६ सय ६० जनामा संक्रमण देखियो ।
वैशाख महिनामा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या तिव्र गतिमा बढिरहेको छ । यो सँगै देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएको छ ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसाथ थप एक साता लम्ब्याइने भएको छ ।
हिजो मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
यसैगरि यता मकवानपुरमा पनि कोरोना संक्रमतिको संख्या बढ्न थालेपछि ४ स्थानीय तहमा २० गते राति १२ बजेबाट बैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले निषेधाज्ञाको पुर्ण पालना गर्न गराउन सबैमा आग्रह गर्नुभएको छ ।