–रामकुमार एलन
२०५० जेठ ३ गते दासढुंगा जीपकाण्डमा एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमयी निधन हत्या करार भएपछि एमालेका चखेवाजोडी जस्तै रहेका माधवकुमार नेपाल र केपी शर्मा ओलीले एउटा निर्णय गरेः अब कतै एउटै गन्तव्यमा जानु पर्दा एउटै सवारी साधनमा नजाने, एउटै विमानमा पनि सँगै नजाने ।
त्यो निर्णयले २७ वर्षपछि यी दुई नेतालाई यस्तो ठाउँमा ल्याइपुर्यायो कि, ‘जंगेशासन’कै हुलिया र हैसियतमा केपी शर्मा ओली कायम रहने हो भने अबको केहीदिनपछि एमालेबाट माधवकुमार नेपाल निकालिनेछन्, लखेटिइनेछन्, गल्हत्याइनेछन् । बालुवाटार जग्गा प्रकरणदेखि अनेक लाञ्छनाको भकारी सुम्सुम्याएर ओली बसिरहेका छन्, उनलाई कहिले २७ वैशाखको घाम डुब्लाजस्तो भइरहेको छ ।
के छ २७ वैशाखमा ?
ज्योतिषलाई हेराए या भजनमण्डलीका पछुवाहरुले सुझाव दिए, उहिले संसद विघटन गरेर पनि राजीनामा दिन आवश्यक नठानेका अनि संसद पुनःस्थापनापछि र एमाले माओवादी अलग भएपछि पनि ६४ प्रतिशतको हिस्सेदारका एकल ठेकेदारका रुपमा प्रकट भइरहेका ओलीलाई आफ्नो धरातलको रसायन बलियै छ भन्ने भ्रमले त घर गरेकै थियो, पछुवाहरुले तपाईंले सोचेभन्दा बढी छ भनेर उफारिरहेका थिए । त्यसैले के को संसद, के को अदालत, के बहमुत, के को निष्पक्षता, के को केन्द्रीय कमिटी र के को पार्टी विधान भन्दै रैमट्ट पाराले अघि बढिरहेका ओलीले विश्वासका मत लिनु नपर्ने अजरअमर बुटीबाट विभूषित रहेको भ्रम पालिरहे ।
धम्काए, ‘माओवादीले अझै मलाई समर्थन किन गरिरहेको ?’ ‘माधवकुमार नेपालले चुनाव जित्छन्, कसले भोट हाल्छ ?’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको अडान, गगन थापाको फेसबुक र केही सम्बोधन अनि विश्वप्रकाश शर्माको ट्विटरमा सीमित हुँदै गइरहेका बेला पुष्पकमल दाहाल, माधवकुमार नेपालले प्रतिपक्षी बन्न खोज्ने ? स्वाभाविकरुपमा घमण्डको घडा फुल्दा आफ्नै जेठा छोरालाई पनि पिटिपिटी मार्ने श्री ३ जंगबहादुर प्रधानमन्त्री भएको देश अनि अदालती बहसमा अहिलेका प्रधानमन्त्री ओली राजा र श्री ३ सरह शक्तिशाली भन्ने वकिलहरुको देशमा ओलीराजको विरोध गर्नु जंगबहादुरको जेठो छोरोकै हालत हुने भय थियो । त्यही भय खेप्न नसकेर शेरबहादुर तामाङदेखि कृष्णभक्त पोखरेलहरु माधवकुमार नेपाल एक्लै पर्छन् भन्दै रातबिरात एक्लैएक्लै ‘कुले’ भइरहँदा ओलीराजको अर्को घमण्डको बेलुनले देशमा एकप्रकारको ‘ब्लाकमेल’ गरिरहेको थियो ।
यहीबेला २७ वैशाखमा संसद बैठक आव्हान गरेर ओलीले विश्वासको मत लिन इच्छा जाहेर भएबमोजिम राष्ट्रपतिबाट बैठक आव्हान भएको छ । र, २७ वैशाखमा मत लिँदा फ्लोर क्रस हुने आशंका त ओलीमा छैन नै, विश्वासको मत लिएपछि भोलिपल्ट नै माधवकुमार नेपालहरुलाई रगत छाद्ने गरी भीमसेन थापा झैँ घाइते पारेर शेर्ने सपना हलक्कै बढेको सबैलाई जानकारी नै छ ।
शंकर पोखरेलकै सिको
थोरै लुम्बिनी प्रदेशको राजनीति जोडौँ । कर्णालीमा एमालेकै सांसदहरुले फ्लोर क्रस गरे, कारबाही भएको छ । लुम्बिनीमा पुरानो हस्ताक्षर दुरुपयोग गरेर शंकर पोखरेलले दोहो¥याएर मुख्यमन्त्रीको शपथ लिए । कुलप्रसाद केसी सोनामहरु बहुमत सांसदको हस्ताक्षर बोकेर भित्ते मुख्यमन्त्रीमा सीमित छन् । जब कि, अल्पमतमा रहेको एमालेका सांसदहरु २४ घण्टामा तीनपटक बेचिए लुम्बिनीमा । कोही कांग्रेसमा गए ।
यहाँ एउटै तर्क छ, मौजुदा कानुनले भन्छ, मुख्यमन्त्रीको किचलो साम्य भएपछि एक वर्ष यो विषय उठान हुने छैन, एकवर्षपछि चुनावै गरौँला ।
प्रधानमन्त्री केपी ओली यही सिको गर्न चाहन्छन् । मौजुदा कानुनले प्रधानमन्त्रीलाई दुई वर्षसम्म कुनै प्रस्ताव ल्याएर कमजोर बनाउन पाइन्न भन्ने छ । त्यसैले २७ वैशाखमा ओलीले विश्वासको मत लिनेछन् । त्यसपछि २ वर्षमा चुनाव गरिसक्नु पर्नेछ । विश्वासको मत नै लिन सकेनन् भने पनि संविधानको धारा ७६ को १, २ र ३ ले ओली सरकारलाई नै कात्तिकमा पर्ने तिहारसम्म मनाउन पाउने सुविधा छ भन्ने सूचनामा सबै विश्वस्त छन् । सरकार हुँदा पनि नहुँदा पनि बजेट ल्याउन पाइने र दशैँतिहार मान्न पाइने भएपछि माधवकुमार नेपाल किन चाहियो ? मदन आश्रितको स्मृति दिवसअघि नै उनीहरुलाई पनि पुष्पकमल दाहालहरुलाई लखेटे झैँ लखेट्ने मनसुवाको राँको ओलीघरमा दन्किरहेको छ । त्यही मनसुवाको आगोलाई घ्यू थपिदिएकाे छ माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषालको स्पष्टिकरणले । चारैजनाले कतै हाकाहाकी त कतै घुमाएर भनेका छन्, ‘स्पष्टिकरण त हामीले पो तपाईंलाई सोधिरहेका छौँ ।’
प्रधानमन्त्री ओली २७ वैशाखमा विश्वासको मत लिँदा दुई कुरा परीक्षा गर्न चाहन्छन् ।
१.कतै माधवकुमार नेपाल समूहले फ्लोर क्रस गर्छन कि ?
२. फ्लोर क्रस गरेनन् भने पनि यिनीहरु मेरै लागि समस्या बनिरहनेछन् ।
माधव नेपाल समूह किन समस्या ठान्छन् ओली ?
१७ वैशाख २०७७ को राजनीतिक घटनाक्रमले एमाओवादीलाई पेरिसडाँडामै फर्काए पनि माधवकुमार नेपाल र झलनाथ खनाललाई एमालेको धुम्बाराहीको कार्यालयमा ‘वरिष्ठ नेता’को कुर्सीमा फिर्ता नहुन ओलीले गानो जाने गरी बल गरे । पेरिसडाँडामा नेकपा अध्यक्ष बनेका माधवकुमार नेपाल धुम्बाराही फर्केपछि एमाले अध्यक्षका रुपमा कतै पनि समानान्तार गतिविधिमा सक्रिय भएनन् । २०७५ जेठ २ कै अवस्थामा एमाले बन्नु पर्छ भनेर देशव्यापी अभियानमा हिँडे । अध्यक्ष केपी ओली नै भने, वरिष्ठ नेताका रुपमा आफूलाई होच्याएर एक नम्बरका वरिष्ठ नेता बनाइएका झलनाथ खनालहरुलाई पनि अध्यक्षता गराएर प्रमुख अतिथि र कुशल लिडरका रुपमा स्थापित गरिरहे ।
यति मात्र होइन, एमाओवादी केन्द्र अलग भएपछि माधवकुमार नेपालहरुको अभियान यति सारो बढ्छ भन्ने कल्पना सायदै थियो ओली समूहको । देशभर भेला र बैठक मात्र भएन, सबै जनसंगठन विस्तार भयो । वडासम्म यो अभियान चलाउन थालियो । प्रायोजित हौवा फिजाइयो, भएभरका नेता कार्यकर्ता लिएर माओवादीमा जान्छन् माधवकुमार नेपाल । ओलीसँग ४७ मतले हारेका माधवकुमार नेपालले नेता कार्यकर्ता जोगाउन सक्दैनन् भनेर प्रचार भइरहँदा तिनै ओलीसँग ४० प्रतिशतमा हस्ताक्षर गरेका पुष्पकमल दाहालले माधवकुमार नेपाललाई नेकपा हुँदै पार्टी र जनसंगठनमा ५० प्रतिशत हिस्सा दिने हस्ताक्षर गरिसकेका थिए ।
देशभर भएका माधवकुमार नेपाल समूहका नेता कार्यकर्ताको भेलाले सूर्य रहे रहोस्, गए जाओस्, तर माओवादीमा मिल्ने भन्दा एमालेमै अन्तरसंघर्ष चर्काउने, ओलीको घमण्डको नूर गिराउन दबाब अभियान चलाउने भनेपछि माओवादीमा माधव नेपाल मिसिने हनुमानहरुको अनुमानको रिपोर्ट पनि फेल आयो । १० औँ महाधिवेशन आयोजक कमिटीको पुराना सदस्यहरुमा नेपाल नै बलिया छन्, केन्द्रीय समितिमा नेपालकै पक्ष बलियो छ । प्रदेश कमिटीहरु मात्र होइन, जनसंगठनहरु पनि कमजोर बने । यस्तो बेला स्वस्थानीका अध्यायहरुमा दक्ष प्रजापतिको यज्ञमा फाल हालेर मरेकी सतीदेवी बोकेर कैलाश हिँडेका महादेवकै ताल थियो ओलीको, आँखा खुलेदेखि ननिदाएसम्म माओवादीको विरोध गर्नु पर्ने अनि सत्ता जोगाउन मणि थापा र पार्टीमा बहुमत देखाउन रामबहादुर थापा काँध हाले बस्नु पर्ने ।
आफू जति मूडी बन्दै गए, त्यसले बुम्र्याङ मात्रै गरेको त छदैँथियो । ताली बजाउन बोलाएर बनाइएका केन्द्रीय सदस्यहरुलाई राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बनाउने निर्णय गरे । त्यो पनि एमाले विधानमा सहज थिएन ।
निष्टा र न्यायको लडाईं चलिरहँदा ओलीलाई चौपट सकस त थियो नै । २७ वैशाखमा विश्वासको मत लिएर सबैलाई स्पष्टिकरण चित्त नबुझेको भन्दै निकाल्ने सपना भित्रभित्रै हुर्किरहेको थियो । हिजो एउटा ‘र–वा’ थपेर ४० प्रतिशत लिएर पार्टी फोर्न पनि असफल भए । संसद विघटन पुष्टि नभएपछि माओवादीलाई फर्काउनु पर्यो । यतिखेर माधवकुमार नेपाल समूह सर्लक्क माओवादीमा जान्छन् र हालिमुहाली गर्दै पार्टी आफूले होइन उनीहरुले फुटाउन चाहेको बताउने चाहना पनि चैतको डढेलोले खरानी पारेपछि ओलीको अन्तिम जिजिविषा हो, २७ वैशाखमा विश्वासको मत परीक्षण गरेर प्रतिस्पर्धीहरुको राजनीतिक सफाया ।
आउला त राजीनामा ?
वरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमण भएर उपचाररत हुनुहुन्छ । माधवकुमार नेपाल समूहका सांसदहरु छलफलमा हुनुहुन्छ । २७ वैशाखमा विश्वासको मतमा सफल भए पनि ओलीले ह्याकुल्लाले पेलेरै सबैलाई कारबाही गर्नु हुनेछ । कर्णालीमा झैँ फ्लोर क्रस भए त झन सबै अधिकार आफूमा निहीत गरेर बसेका ओलीले कहाँ बाँकी राख्लान् र ? हल्ला गरिए जस्तो माओवादीमा पनि नजाने, पार्टीभित्र पनि साथ नदिनेहरुलाई के गर्ने त ? ओलीको एउटै नीति छ, ‘छेउमा पाए घचेट्ने, भित्तामा पाए अचेट्ने ।’
मदन भण्डारीले नाम राखिदिनु भएका ‘बातबहादुर’ अर्थात् केपी ओलीले यसो गर्नुहुन्छ भनेर कल्पना थिएन झलनाथ खनाल र माधवकुमार नेपालको । उहाँहरुको बुझाइ थियोः ओली सकभर पेल्न खोज्छन्, नसकेपछि मैले के नै गरेको छु र, तपाईंहरुले भनेको मानिहाल्छु नि भन्छन् ।’ तर नवौँ महाधिवेशनपछि बलशाली बनेका ओलीको व्यवहार यस्तो फेरियो कि, माधव नेपाल र झलनाथ खनाललाई नसोधी प्रचण्डसँग सहकार्य गरेर पार्टी र वडादेखि राष्ट्रपतिसम्मको राज्यसत्ता कब्जा गरेपछि प्रचण्डलाई नै घर फर्काइदिए । लिखित कागजसमेत खोस्टा भयो । प्रचण्डले माधव नेपालसँग भन्नुहुन्थ्यो रे, ‘मैले डेढ वर्ष थेग्न सकिनँ, तपाईले कसरी ३५ वर्ष थेग्नु भयो ?’
पार्टीमै रहेर अन्तरसंघर्षमार्फत पार्टीलाई लयमा ल्याउने र ओलीशासन अरु थेग्ने माधवकुमार नेपाल समूहको अडानमा सायद केपी ओली थाक्नु भयो, त्यसैले अबको कारबाही सांसद पदबाट कारबाही र पार्टीबाट निष्काषन केन्द्रित छ । हो, तपाईंको अड्कल ठीकै हो, केपी ओलीलाई वैशाख २७ गते घाम डुब्नुअघिसम्म मात्रै चाहिएको हो माधवकुमार नेपाल समूह । यत्रो हुर्मत लिँदा पनि कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङहरु मात्र चुहिए । माधव नेपालसँग कहाँ छन् नेता, कार्यकर्ता भन्ने ठाउँ नै रहेन । त्यसैले नरहे माधव नेपाल, न बजिरहन्छ खतराको घण्टी । ओलीको अन्तिम चाहना पूरा हुनुअघि नै माधव नेपाल समूहको परेड कस्तो देखिन्छ, केहीदिनमै तपाईंहरुलाई अनुभूत हुनेछ । कुरौँ केही दिन । इमान, निष्टा र सत्यका पक्षमा अल्पमत नै परे पनि लडिरहौँ ।