हेटौंडा,२१ वैशाख ।
मकवानपुरमा आज एकै दिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मृत्यु हुनेमा बाराका ५९ वर्षीय पुरुष रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसअधि आजै हेटौंडा–६ की ४१ वर्षीय महिलाको कोरोनाको कारण मृत्यु भएको थियो । यससँगै तीन दिनको विचमा ५ जना कोरोना संक्रमतिको मृत्यु भएको जनस्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायले बतानुभयो ।
यसैबिच आज मकवानपुरमा थप ७६ जनामा कोरोना संक्रमणपुष्टि भएको छ । ९३ जनाको पिसिआर परीक्षण गर्दा ५७ जना र ४२ जनाको एन्टीजिन विधिबाट गरिएको परीक्षणमा १९ जना संक्रमित थपिएका छन् । तीमध्ये हेटौंडा उपमहानगरपालिका ५९ जना छन् ।
त्यस्तै, थाहा नगरपालिकामा १ जना, मनहरी गाउँपालिकामा ४ जना, भीमफेदी गाउँपालिकामा १ र मकवानपुरगढी गाउँपालिकामा ११ जना कोरोना संक्रमित थपिएका छन् ।
यो संगै मकवानपुरमा आजको दिनमा ७ सय ७२ जना सक्रिय संक्रमित पुगेका छन् । जसमा ७ सय ४० जना संक्रमित घरमा,१९ जना संक्रमित हेटौंडा ६ स्थित गौरिटार आइसोलेसनमा र १३ जना संक्रमित हेटौंडा अस्पतालमा उपचाररत रहेका छन् ।