हेटौंडा, २१ वैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमणसँगै मृत्यु दर बढ्दा राज्ले अपनाएको लकडाउन (निषेधाज्ञा) ४५ जिल्लामा पुगेको छ । मंगलबारदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा लागू भएको छ ।
गृह मन्त्रालयले यसअघि नै दार्चुला, मोरङ, काभ्रे, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा सङ्क्रमण बढेको भन्दै निषेधाज्ञा लगाइसकेको छ । झापा र सुनसरीमा सवारी सञ्चालनमा जोरबिजोर प्रणाली लगाइएको छ । बाजुरा र महोत्तरीमा बुधबारदेखि निषेधाज्ञा सुरु हुने छ ।
वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार कोरोना रोकथामका लागि पहाडी तथा तराईका जिल्लामा पाँच सय सक्रिय सङ्क्रमित पुगेपछि र हिमाली जिल्लामा दुई सय सक्रिय सङ्क्रमित पुगेपछि निषेधाज्ञा लगाउने निर्णय भएको हो ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने भएको छ ।




