हेटौँडा , वैशाख २० ।
१. औषधी उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकका पायक पर्ने स्थानमा
जान बाहेक कुनै पनि व्यक्तिहरू घर बाहिर निस्कन र हिँडडुल गर्न नपाइने ।
२. अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसल बिहान ५:०० वजेदेखि विहान ९:०० बजेसम्म मात्र खोल्न पाइने,औषधी पसल, पेट्रोल पम्म, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल, सवारी साधन मर्मत गर्ने तोकिएका वर्कसप नियमित सञ्चालन गर्नुपर्ने । अन्य सबै प्रकारका व्यवसायहरू बन्द रहने ।
३. एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबीजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधन बाहेक कुनै पनि प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक (मोटरसाइकल समेत) र अन्य ढुवानीका सवारी साधनहरू सञ्चालन गर्न नपाइने ।
४. सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंकिङ तथा वित्तिय क्षेत्र एवं अत्यावश्यक सेवा प्रदान गर्ने क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा र समाचार संकलन/सम्प्रेषण कार्यमा खटिएका सञ्चारकर्मीहरूको हकमा पहिचान खुल्ने फोटो सहितको परिचयपत्रका आधारमा आवत जावत गर्न दिइने ।
५. अन्य जिल्लाबाट आएका पूर्व-पश्चिम राजमार्ग भई जाने लामो दूरीका सवारी साधन, मालवाहक सवारी साधनहरू तथा निर्माण सामग्री ढुवानीका साधनहरू यस जिल्लामा नरोकिने गरी आवत जावत गर्न पाइने ।
६. अत्यावश्यक सरकारी सेवाहरू एक तिहाई कर्मचारीको व्यवस्थापन गरी आलोपालो प्रणालीबाट सञ्चालन गर्ने ।
७. बैंक, वित्तिय संस्था तथा सहकारीबाट प्रदान गरिने सेवा जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने गरी आलोपालो विधिबाट विहान ९:०० बजेदेखि दिनको ४:०० बजेसम्म मात्र सञ्चालन गर्ने । तर, सबै बैंक तथा वित्तिय संस्थाहरूले आ-आफ्ना ATM तथा विद्युतीय सेवाहरू २४ सै घण्टा सुचारू राख्नुपर्ने ।
८.मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गरी अन्य समयमा बन्द गर्ने ।धार्मिक, सांस्कृतिक र सामाजिक लगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालन गर्न नपाइने । तर, विवाहका लागि बढीमा १५ जनासम्म नजिकको प्रहरी इकाईसँग समन्वय गरी आफ्नै निवासमा जनस्वास्थ्यका मापदण्ड
पालना गरी सम्पन्न गर्न सकिने ।
९. विवाहका लागि जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँ वा अन्तर जिल्ला जानुपर्ने भएमा दुईवटासम्म सवारी साधनमा १५ जनासम्म मात्र जान सकिने ।
१०. औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदूर कर्मचारीहरूलाई जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गरी गराई उद्योग परिसरभित्रै वा निश्चित स्थानमा राखी बाहिर आवत जावत नहुने सुनिश्चितता गरी उद्योग सञ्चालन गर्न सकिने ।
११. विकास आयोजना तथा निर्माण कार्य सञ्चालन गर्दा आयोजनास्थल वा निर्माणस्थलमा नै कामदार तथा कर्मचारी रहने व्यवस्था मिलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी, गराई निर्माण कार्य सञ्चालन गर्न सकिने ।