हेटौँडा , वैशाख १८ ।

मकवानपुरमा कोरोना संक्रमितको संख्या बढेसँगै हेटौंडा अस्पतालमा कोभिड आईसीयू सञ्चालनमा आएको छ । सरकारले कोरोना संक्रमण दर उच्च रहेको जिल्लामा मकवानपुरलाई पनि राखेसँगै हेटौंडा अस्पताल परिसरमा भेन्टिलेटरसहितको आईसीयू बेड ६ वटा र १४ बेडको एचडीयू गरी २० बेडको कोभिड उपचार कक्ष सञ्चालनमा आएको हो । यसअघि १० बेडको एचडीयू सेवा सञ्चालनमा रहेको थियो । अब हेटौंडा अस्पतालमा कोरोनाको गम्भीर बिरामीका लागि ३० बेडको उपचार कक्ष सञ्चालनमा आएको छ । हाल हेटौंडामा चार जना संक्रमित उपचाररत् रहेका छन् । हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा। सागर काफ्लेका अनुसार बाहिरी जिल्लाका बिरामीहरु पनि उपचारका लागि आउन थालेका छन् । कोरोनाको बिरामीको चाप बढ्दै गए पूरै हेटौंडा अस्पताललाई नै कोरोना डेडिकेटेड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले जानकारी दिए ।