हेटौंडा, १८ वैशाख ।
नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभाका पूर्व सदस्य प्रा. विदुर पौडेलको निधन भएको छ । शनिबार बिहान पशुपतिस्थित वैद्यखानामा पौडेलको ७७ वर्षको उमेरमा निधन भएको हो।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका पूर्वीय दर्शन तथा संस्कृत साहित्यका अध्येता पौडेलको मस्तिष्कघातबाट निधन भएको हो।
ओखलढुङ्गा स्थायी घर भई काठमाडौंको कुमारीगालमा बस्दै आएका पौडेललाई केही दिनअघि मस्तिष्कघात भएको थियो ।
शिक्षण अस्पताल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गरिएको थियो । उपचार सम्भव नभएपछि पशुपतिमै प्राण त्याग्ने पौडेलको इच्छाअनुसार वैद्यखाना लगिएको परिवारका सदस्यले बताएका छन्।
अविवाहित जीवन बिताएका पौडेल छ जना दाजुभाइमध्ये जेठो हुनुहुन्थ्यो ।