हेटौँडा , वैशाख १६ ।
जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गल्ती स्वीकार गरेको प्रतिक्रिया दिएका छन् ।
बुधबार मन्त्रिपरिषद्ले मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा रहेको सरकारले मुद्दा चलाएको र अहिले आएर ओली नेतृत्वकै सरकारले फिर्ता लिएर गल्ती स्वीकार गरेको बताए ।
मधेसका माग भने अझै पूरा नभएको यादवको भनाइ छ । मधेसको माग पूरा भयो कि भएन भन्ने कुरा मधेसी जनताले नै महसुस गर्नुपर्ने उनले बताए । ‘ढाँटेर, छलेर अब काम चल्दैन,’ उनले भने, ‘मधेसको पहिचान, राज्यको पुनः संरचना, समानुपातिक समावेशी, नागरिकताको विषय, संविधान संशोधन लगायतका माग नै मधेसको मुख्य माग हुन् ।’
यी माग पूरा नभएसम्म मधेसको अधिकार स्थापित नहुने अध्यक्ष यादवले बताए । पहिला फसाउने, मुद्दा लगाउने अनि त्यसपछि त्यसैको बार्गेनिङ गर्दै वार्ता गरेर आन्दोलन समाप्त गर्ने शासकहरुको नीति नै रहने उनको भनाइ छ ।