हेटौंडा, १६ वैशाख ।
जसपा संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको न्युरो र इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ ।
काठमाडौंस्थित वीर अस्पतालमा डा। सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया सम्पन्न हुनेछ । त्यसका लागि अध्यक्ष भट्टराई आजै अस्पताल भर्ना हुनुहुनेछ । शल्यक्रिया वैशाख १७ गते हुनेछ ।
यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उहाँको स्वास्थ्य परीक्षण भएको थियो । वायोप्सी, डिओटिए परीक्षण, एनओसी परीक्षण तथा पेट सिटिस्क्यानसहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका थिए ।
शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो । चिकित्सकको सुझावअनुसार नै अध्यक्ष भट्टराईले अहिले नेपालकै सरकारी अस्पताल वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लाग्नुभएको हो ।