हेटौंडा, १५ वैशाख ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आज मन्त्रीमण्डल विस्तार गर्नुहुने भएको छ । मुख्यमन्त्री पौडेलले चार महिनादेखि रिक्त तीन मन्त्रालयमा आज मन्त्री नियुक्त गर्न लाग्नु भएको हो ।
गत पुस ५ मा प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै पुस १० मा तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएका थिए ।

सरकारबाट बाहिरिएका आन्तरिक मामिलामन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएपछि बागमतीका तीन मन्त्रालय मन्त्रीविहीन छ । रिक्त तीनवटै मन्त्रालय मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आउनुभएको थियो ।

नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा मन्त्रालयको जिम्मेवारी सत्तारुढ नेकपा एमाले ओली पक्षका सांसदलाई दिइने भएको छ । मन्त्री नियुक्तका लागि आजै नाम टुंगो लगाइने र आजै अपराह्न ४ बजे शपथग्रहण गराइने जनाइएको छ ।


मन्त्रीका लागि नेकपा एमाले बागमती संसदीय दलका प्रमुख सचेतक केशव पाण्डे, सिन्धुपाल्चोकका सुरेश नेपाल, काभ्रेका चन्द्र लामाको नाम चर्चामा छ । यी तीनजना मन्त्री बन्ने पक्का भए पनि कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिइनेबारे थप छलफल भइरहेको बताइएको छ ।

मन्त्रीका लागि नाम अघि सारिएका तीनैजना सांसद नेकपा एमाले ओली पक्षका हुन् ।

यसैगरी बागमती प्रदेशको ६ मन्त्रालयमा राज्यमन्त्री पनि राखिने भएको छ । ६ मन्त्रालयमा ६ जना राज्यमन्त्रीको जिम्मेवारी ओली पक्षका सांसदलाई दिइने जनाइएको छ । राज्यमन्त्रीमा सरस्वती बस्नेत, डा। रामकुमार अधिकारी, प्रदीप कटुवाल, जुनेली श्रेष्ठको नाम अघि सारिएको छ ।