हेटौँडा, वैशाख ११

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि निर्वाचन आयोगले बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आयोगले निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा २ जना (१ जना जगेडा समेत) जिल्ला न्यायाधीशको नामावली माग गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले बागमती प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । त्यस दिन बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।