हेटौँडा , वैशाख ९ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशिल, शक्तिहरूलाई एकतावद्ध हुँदै प्रतिगमनविरुद्ध अभियानमा लामवद्ध हुन अपिल गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७२औँ स्थापना दिवसका अवसरमा शुभकामना दिँदै प्रचण्डले देशको आर्थिक विकास, समृद्धि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरूको ऐक्यबद्धता अहिलेको ऐतिहासिक आवश्यकता भएको बताएका हुन्।

कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तर संघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको उल्लेख गर्दै प्रचण्डले यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृत्ति देखा परेको टिप्पणी गरेका छन्।