हेटौँडा , वैशाख ७ ।
प्रदेशमा शान्ति सुरक्षा कायम गर्न र प्रहरी संगठनलाई चुस्तदुरुस्त बनाउन संघीय सरकार मातहत रहेको नेपाल प्रहरीलाई वाग्मती प्रदेश सरकारले विभिन्न क्षेत्रमा एक अर्ब रुपैयाँभन्दा बढी बजेट लगानी गरेको छ ।

संघीय सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजनका लागि तयार पारेको संगठन तथा व्यवस्थापन ओएन्डएम प्रति आपत्ति जनाइरहेको भए पनि प्रदेश सरकारले भने भवन निर्माण, सवारीसाधन खरिद, चेकिङ पोस्ट निर्माण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि एक अर्ब १८ करोड रुपैयाँ लगानी गरेको हो ।

हालसम्म प्रदेश सरकारले ९२ करोड रुपैयाँ खर्च गरिसकेको छ भने बाँकी रकम चालु आर्थिक वर्षभित्रमा खर्च गर्ने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । प्रदेशअन्तर्गत उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको शान्ति, सुरक्षा, व्यवस्थापन संघीय सरकार मातहत राख्ने गरी संघीय सरकार अगाडि बढेको भन्दै प्रदेश सरकारले प्रहरी समायोजन आफूहरूलाई अमान्य हुने बताइरहेको छ । यस्तो अवस्थामा उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका बाँकी दस जिल्लामा प्रदेश सरकारले उक्त बजेट खर्चेको हो ।

गत आवमा प्रदेश सरकारले आन्तरिक मामिला मन्त्रालयमार्फत १० जिल्लामा ४६ वटा प्रहरी इकाइ भवनहरू निर्माण गर्न बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट आइतबारसम्म ३२ वटा इकाइ भवनहरू निर्माण गरिसकेको छ । दुई वटा भवनको आइतबार मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका थिए । बाँकी १४ वटा भवन चालु आवभित्रै निर्माण हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलले बताए ।

संघीय सरकारको मातहत प्रहरी संगठन रहे पनि प्रदेश–३ को सरकारले नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्दै आएको प्रहरी संगठनको क्षमतालाई वृद्धि गर्न प्रहरी इकाइको भवन निर्माण गर्न रकम विनियोजित गरेको प्रदेश सरकारले जनाएको छ ।