हेटौंडा । मकवानपुुरमा पछिल्लो केहीदिन यता दैनिक झ्याप्प झ्याप्प विद्युत कटौती भैरहेको छ । दैनिक ५ देखि १० पटकसम्म विद्युत कटौती भैरहँदा मकवानपुरबासी सास्ती खेप्न बाध्य छन् । अप्रत्यासित रुपमा विद्युत कटौती भैरहँदा सर्वसाधारणहरु आजित भएका छन् ।

सर्वसाधारणले अघोषित लोडसेडिङ भैरहेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । झरी, आँधीहुरी नआउँदा पनि विद्युत आपूर्तीमा समस्या भैरहेको छ । ‘त्यसै पनि लाइन काटिएको छ । के भएको हो कतिबेला लाइन आउँछ भनेर बुझ्न प्राधिकरणको ल्याण्डलाइनमा फोन गर्दा सधैँ व्यस्त हुन्छ,’ हेटौंडा–६ का सरोज पौडेलले भने, ‘छिनमै काटिने छिनमै फेरि आउने यो कस्तो खालको समस्या हो बुझ्न सकिएको छैन ।’ प्राधिकरणको लापरबाहीका कारण घरायसी उपकरणमा क्षति पुगेको सर्वसाधारणको गुनासो छ । पछिल्लो समय धेरैको घरको टिभी, ल्यापटप, राइस कुकर, पानी तान्ने मेसिन, बल्बलगायतका सामग्रीमा क्षति पुगेको सर्वसाधारणको गुनासो छ । बेलाबेलामा भैरहने विद्युत कटौतीको समस्या समाधानका लागि दीर्घकालीन योजना निर्माण गर्नुपर्ने माग गरिएको छ ।

‘हावाहुरी नआउँदाको अवस्था त यस्तो छ । दिनहुँ पटकपटक लाइन काटिरहेको छ, पछि झन् के हाल होला ?’ मनहरी गाउँपालिकाका ध्रुब अधिकारीले भने, ‘मकवानपुरमा मात्रै प्रत्येक बर्ष यस्ता खालका समस्या देखिने गरेको छ ।’ ग्रामीण क्षेत्रमा कुहिएका काठका पोल हटाउन र पोलसँगै टाँसिएका हरियो रुख एवम् हाँगाहरु काट्न समेत प्राधिकरणले ध्यान नदिँदा थप समस्या निम्तिन सक्ने सर्वसाधारणको सुझाव छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्र प्रमुख योगेन्द्र ठाकुरले ‘सिस्टम डाउन’ भएका कारण पछिल्लो समय विद्युत अवरोध भएको जानकारी दिए । (प्रदेश दैनिकबाट)