हेटौंडा । केन्द्रमा देखिएको नेकपा एमालेको विवाद जिल्ला तहमा झन कडा रुपमा देखिएको छ । शनिबार नेकपा एमाले ओली पक्षका अध्यक्ष एकलाल श्रेष्ठले यस अघि एमाले जिल्ला अधिवेशनबाट निर्वाचित भएकी अध्यक्ष मुनु सिग्देललाई आर्थिक हिनामिनाको आरोप सहित स्पष्टिकरण माग गरेपछि नेपाल पक्ष एमाले काउन्टरमा उत्रेको छ ।

लेबी नतिर्नेले दुष्प्रचार गरेः सिग्देल

नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले आफ्नो प्यानलबाहेक अर्काे प्यानलबाट जितेर आएकाहरुले लेबीसमेत नतिरेको बताएकी छिन् । ओेली पक्षधर बाहेक मकवानपुर जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष सिग्देलले समानान्तार कमिटी गठन गरेर आफ्ना विरुद्ध दुष्प्रचार भइरहेको र कुनै सत्यता नरहेको बताएकी हुन् । उनले भनिन् ‘रकम हिनामिनाको प्रचार गर्नेहरुले पार्टीमा लेबीसमेत तिरेका छैनन्, सबै हिसाबकिताब सुरक्षित छन्, बरु को को नेताको घरका बिलसमेत पार्टीबाट भुक्तानी भएका छन्, समय आएपछि भनौँला ।’ अध्यक्ष सिग्देलले आफ्नै कार्यकर्ताले हठात् कार्यालय फोडेर कब्जा गरेको र फेरि झडप गरेर आफ्नै कार्यकर्तासँग दूरी किन बढाउनु भनेर संयमता अपनाइएको बताईन् । अराजकता मात्र उपाय होइन, कार्यालय फोडेर राम्रो काम नभएको बताईन् ।

ओली विसर्जनवादतिरः केदार न्यौपाने

नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्यौपानेले बढ्ता उदारवादी हुँदा अध्यक्ष केपी ओलीले पार्टी विसर्जन गराउने अवस्थामा पुगेको बताउनु भएको छ । नेकपा एमाले मकवानपुर बैठकलाई सम्बोधन गर्दै नेता न्यौपानेले भने ‘जसरी नीति विपरीतका नेता चुनिँदा केशरजंग रायमाझीले पार्टी सिध्याउनु भयो, त्यसैगरी माधवकुमार नेपाल समूहको विचार पारित हुँदा अध्यक्षमा निर्वाचित केपी ओलीले पार्टी सिद्धान्तको नामै नलिई पार्टी सकाउनु भयो, यही दुर्भाग्य भयो । ’ कुनै पनि कम्युनिष्ट नजरबाट केपी ओलीलाई कम्युनिष्ट मान्न नसकिने न्यौपानेको भनाइ छ ।

ओलीले प्रधानमन्त्री बन्न माओवादीसँग एकताः विरोध खतिवडा

प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री बन्नकै लागि माओवादीसँग एकीकरण गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीले आफ्नो फाइदा र अवसरको लागि मात्र माओवादीसँग गठबन्धन गरेको र आफ्नो स्वार्थ पुरा भएपछि पार्टी एकतालाई तोड्ने काम गरेको बताए । नेकपा एमालेका नेता खतिवडाले प्रधानमन्त्री ओलीले अहिले आफूभन्दा ठुलो र राष्ट्रवादी कोही नभएको भन्दै आफुलाई मदन भण्डारी र मनमोहन अधिकारी जस्तो ठान्न थालेको आरोप लगाए । उनले भने ‘मैले पार्टीका धेरै नेताहरुको समयमा काम गरे । नेता मनमोहन र मदन भण्डारीको समयमा पनि पार्टीमा रहेर काम गरें । त्यस समयमा पनि यस्तो काम भएन, जुन अहिले हाम्रा प्रधानमन्त्री गर्दै हुनुहुन्छ ।’ नेकपा एमालेभन्दा पनि महान् राष्ट्रवादी नेता केपी ओली जिन्दावाद लेखेको देख्न थालिएकामा दुःख व्यक्त गर्दै उनले भने ‘प्रधानमन्त्री ओलीलाई ज्ञानेन्द्र बन्नुपर्ने रहेछ, त्यसैले हामी र हाम्रो पार्टी बिर्सिएर राष्ट्रवादी नेता केपी ओली र केपी ओली आइ लभ यू’ जस्ता नारा आफ्ना कार्यकर्तालाई रटाएर भट्ट्याउन लगाएको उनले बताए

नेपाल पक्षको जिल्ला भेलाले नेकपा एमालेको स्थानीय तह र विभिन्न विभागको जिम्मेवारी समेत बाँडफाँड गरेको नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख रामकुमार एलनले बताए । (थाहा सन्देश दैनिकबाट)