हेटौंडा, ४ वैशाख । मकवानपुर उद्योग वाणिज्य संघको ५४ औँ साधारण सभा नजिकिएको छ । संघमा अध्यक्षका प्रत्यासी तीन जना छन्, राजकुमार न्यौपाने, महेन्द्र राउत र कृष्णकुमार गुप्ता अग्रवाल ।

न्यौपाने वामपन्थी एलायन्सबाट उम्मेदवार हुनु भएको छ । उहाँको प्यानलमा उपाध्यक्षका उम्मेदवारहरुमा रामप्रसाद न्यौपाने (वाणिज्य), प्रतिमा श्रेष्ठ (उद्योग), राजु अधिकारी (बस्तुगत) र उज्ज्वल चौलागाईं (एसोसियट) ।

यस्तै, प्रजातान्त्रिक प्यानलबाट महेन्द्र राउतको प्यानलमा उपाध्यक्षका उम्मेदवारहरु रविन्द्र घिमिरे (उद्योग), अनिल अग्रवाल (वाणिज्य) र कृष्णराम न्यौपाने (बस्तुगत) हुनुहुन्छ ।
यस्तै, प्रजातान्त्रिक प्यानलबाट उठ्नु भएका गुप्ताको प्यानलबाट उपाध्यक्षहरु घोषणा हुन बाँकी छ । सोमबार या मंगलबार गुप्ता समूहबाट उपाध्यक्षका उम्मेदवारहरु घोषणा हुने बताइएको छ ।
३ वर्षअघि महेन्द्र राउतको प्यानलबाट उपाध्यक्षका उम्मेदवार भएका रवीन्द्र घिमिरे यसपटक महेन्द्र राउतको प्यानलबाट उम्मेदवार भएका छन् भने राउत प्यानलकै एसोसियट उपाध्यक्षका उम्मेदवार उज्ज्वल चौलागाईं राजकुमार न्यौपानेको प्यानलबाट उम्मेदवार छन् । राउतका प्यानलकै वाणिज्यतर्फका उम्मेदवार कृष्णकुमार गुप्ता अग्रवाल यसपटक अध्यक्षका उम्मेदवार छन् ।
सदस्यहरु पनि यसपटक आफू अनुकुल टिममा जोडिएका छन् । कोही न्यौपाने, कोही अग्रवाल र कोही राउतको प्यानलमा समेटिएका छन् ।
ईन्द्र बानियाँ अनिर्णित हुँदा समस्या
मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अघिल्लो निर्वाचनसम्ममा सँगै रहेका मकवानपुरका दुई घराना अजेयराज सुमार्गी र ईन्द्रबहादुर बानियाँ यसपटक आमनेसामने हुने हुन् कि सँगै भन्ने टुंगोमा पुगेको छैन । सुमार्गीका भाई अरुणराज सुमार्गी र संघका वर्तमान अध्यक्ष कृष्ण कटवाल अग्रवालका पक्षमा छन् भने बानियाँ अहिलेसम्म मौन छन् ।
नेपाली कांग्रेसमा अग्रवाललाई समर्थन गर्ने कि राउतलाई भन्नेमा संशय देखिएको छ । पहिला कांग्रेसको पनि समर्थन लिएर अध्यक्षको उम्मेदवार बन्न खोजेका राजकुमार न्यौपाने बालुवाटार छिरेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत खाएर फर्केपछि ईन्द्र बानियाँ र प्रभात दाहालले न्यौपानेलाई दिएको साथ समाप्त भएको छ । यसपछि बानियाँकै सल्लाहमा दाहालले राउतलाई आधिकारिक उम्मेदवार बनाउने अभियान पनि चाले ।
तर यही बीचमा कटवाल र अग्रवाल पनि बुढानिलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग टीका लगाएपछि बानियाँलाई निर्णयमा पुग्न नैतिक संकट परेको बुझिएको छ । चैत २५ गते नै कांग्रेसले महेन्द्र राउतलाई आधिकारिक बनाउने चर्चा चलेपछि राउत रोयल प्यालेसमा सचिवालय नै सञ्चालनमा ल्याएर अभियान चलाइरहेका छन् । तर बिहीबार र शुक्रबार भएको बैठकमा पनि राउतको पक्षमा निर्णय गर्न कांग्रेस सभापति बानियाँ सफल भएनन् । उनले अग्रवाल र राउत मिलेर जानु पर्ने मात्र बताएको कांग्रेस निकट व्यापारीहरु बताउँछन् ।
कृष्णकुमार गुप्ता अघिल्लो निर्वाचनमा महेन्द्र राउत प्यानलकै वाणिज्यका उपाध्यक्षका उम्मेदवार हुन् । राजकुमार न्यौपानेको साथ रहेको राउत प्यानलबाटै गुप्ता उपाध्यक्ष भए । तर यसपटक यस्तो अवस्था बन्यो कि, राउत अध्यक्षबाट पछि फर्कनै नमिल्ने, केन्द्रीय सदस्य र अध्यक्ष भइसकेकाले न्यौपाने पनि अध्यक्ष भन्दा तल्लो पदमा उठ्न नमिल्ने भएपछि रामप्रसाद न्यौपानेको प्यानल घोषणापछि पनि न्यौपानेलाई उपाध्यक्ष बनाएर राजकुमार आफैँ अध्यक्षका उम्मेदवार भएका छन् ।
यता, उपाध्यक्ष रहेका गुप्ताले निर्वाचन कार्यक्रम जिल्लाभर गरिरहँदा राउतको प्यानलमा फर्कन पनि कठिन रहेको बताइएको छ । अर्कातिर बुढानिलकण्ठ पुगेर कांग्रेस सभापतिबाटै टीका लगाएपछि जिल्ला सभापतिले यसबारे अहिले नै निर्णय गर्दा बलियो प्रजातान्त्रिक समूहमा असन्तुष्टि बढ्छ कि भनेर टार्दै आएका छन् । ‘दुवै मिले हुन्थ्यो, सभापतिज्यू त्यो भन्दा बढी बोल्नु हुन्न,’ कांग्रेसका एक नेताले भने ।
म ब्याक हुन्नँ: राउत
पार्टीबाट निर्णय आउला भनेर कुर्दाकुर्दै निर्णयमा ढिलाइ भएपछि महेन्द्र राउतले शनिबार उद्योगी व्यापारी भेला गरेर आफ्नो प्यानल घोषणा गरेका छन् । आफ्ना २७ प्रतिवद्धता सार्वजनिक गर्दै राउतले रोष पनि पोख्नु भयो, ‘एक महिना अघि तिज आएजस्तै उद्योग वाणिज्य संघमा दुई महिनाअघि नै चुनाव आयो ।’ राउतको आक्रोश पनि थियो, ‘कसैलाई नेपाल उद्योग वाणिज्य संघमा पुग्नकै लागि यस म्यान खोज्नेहरुबाट मकवानपुर उद्योग वाणिज्य संघ बचाउनु पर्छ ।’ राउतले राजकुमार न्यौपाने, कृष्णकुमार गुप्ता, कृष्ण कटवाललाई मात्रै कटाक्ष गरेनन्, अरुणराज सुमार्गीलाई पनि प्रहार गरेका थिए । शक्तिखबरसँगको प्रतिक्रियामा भन्नुभयो, ‘म अब ब्याक हुन्न, निर्णय होस्–नहोस्, निर्वाचनमा होमिएँ, सबैको साथ पाउँ ।’