-रामकुमार एलन
हेटौंडा, ४ वैशाख ।
पश्चिम मकवानपुरको मनहरी बजारबाट करिब ८ किलोमिटर खोलैखोला जाँदा पुगिन्छ परेवाभिर । यही भिर सधैँ पिर बनेर बस्थ्यो अहिलेको राक्सिराङ र कैलाश गाउँपालिकाबाट नूनतेल किन्न मनहरी बजार आउनेका लागि । त्यतिखेरका खैराङ, राक्सिराङ, भार्ता, खैराङ, कालिकाटार, गोगने, डाँडाखर्क गाविसका जनताको मनहरी आउने बाटोको यो भिरमा राणाकालीन ओढार पनि छन् । तर, जब वर्षा लाग्छ, अनि यसरी चार हात पाउ टेक्दै ज्यान हत्केलामा राखेर मनहरी बजार आउनु पथ्र्यो । बजार हिँडेका घरका सदस्य घर नफर्केसम्म देवता भाक्दै मेरा मान्छे घर आइपुगून् भनेर भाकल गरिरहेका हुन्थे घरका सदस्यहरु ।

परेवाभिरमा बाटो खन्न सजिलो पनि थिएन । तर बाटो खन्नै पर्छ भन्नेमा थिए स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारका सदस्यहरु । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल सानोतिनो बजेटले यो काम हुन्न भन्नेमा थिए, तर बाटो खन्न पाए आफ्नो राजनीतिक करियरले परेवाभिरलाई पनि उछिन्नेमा ढुक्क थिए । जीवन हार्न होइन भन्नुहुन्छ प्रदेश सांसद ओम घलान । त्यही भिर हुँदै मनहरी बजार र मनहरी बजारबाट राज्यसत्ता बदल्नका लागि कयौँ डरलाग्दा भिरहरु छिचोल्दै गणतन्त्रको यात्रासँगै बागमती प्रदेश सभा सदस्य हुनु भएका घलान परेवाभिर जित्न सके पश्चिम मकवानपुरको आधा गाउँलेको जीवन नै फेरिनेमा आसावादी हुनुहुन्थ्यो ।

सधैँ एउटै पिर, बाटो बनाउन नसकिएको परेवाभिर । पटकपटक केन्द्रीय सांसद हुनुभएका माननीय विरोध खतिवडा सरकारको नेतृत्वमा त पुग्नु भएन नै, परेवाभिरमा बाटो बनाउन पनि सकिएन भनेर उस्तै पिरोलिनु हुन्थ्यो । २०७७ को कोरोना कहरमा एउटा उद्घोष भयो, परेवाभिरमा बाटो बनाउने । यो उद्घोषमा चरम राजनीतिक हिलो छ्यापाछ्याप भयो आफ्नै पार्टी र सरकारबाट । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले त्यहाँ बाटो बन्दैन भनेर अड्डी कसेपछि खतिवडा र पौडेल आमनेसामने हुँदा तत्कालीन नेकपाको मकवानपुरे राजनीति त रमाइलो बन्यो नै तर खतिवडालाई साथ दिनु भयो प्रदेश सांसद ईन्द बानियाँले । बाटो बनाउन विरोध खतिवडाले केन्द्रबाट बजेट ल्याउने घोषणामा नपुगेको पैसा आफैँले हाल्ने अर्को उद्घोषले मुख्यमन्त्रीलाई पनि काउन्टर नै भयो ।

यति मै सीमित भएन घटनाक्रम । बागमती प्रदेश सभामा सांसद ओम घलानले दोहो¥याइरहनु भयो, ‘परेवाभिरलाई बजेट नछुट्टिए त्यहाँबाट लडेर मरेकाको शव ल्याएर बागमती प्रदेश सभा अवरुद्ध गराइन्छ । हेटौंडा ठप्प पारिन्छ । तर भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको समेत तालुकदार रहनु भएका मुख्यमन्त्रीले कुनै चासो दिनु भएन । लगत्तै राक्सिराङ गाउँपालिकाले २ करोड रुपैयाँ परेवाभिरका लागि बजेट विनियोजन मात्र गरेन, विरोध खतिवडाले पनि ५ करोड रुपैयाँ ल्याउने घोषणा भयो । टेण्डर आव्हान भयो राक्सिराङ गाउँपालिकाबाट । परेवाभिरमा बाटो बनाउने ठेक्का परेको छ ईन्द्र बानियाँ नै आवद्ध रहेको बानियाँ निर्माण सेवा र अन्य जेभीलाई । ४ करोडमा ठेक्का स्वीकृत भयो ।

शुक्रबार दिउँसो हामी परेवाभिर जाने तयारीमा थियौँ । माननीय विरोध खतिवडा त्यहाँ जान इच्छुक हुनुभयो । राजाराम बोगटी, बाबु लामा र म एउटा फोर ह्विल गाडी लिएर परेवाभिर पुग्यौँ । प्रदेश सांसद ओम घलान पञ्जनीमा विद्युतीकरण जो १४ वर्ष लागेछ, बत्ती बल्न, त्यो कार्यक्रममा सरिक भएर आउनु भयो । परेवाभिरमा भइरहेको काम अनुगमन भयो ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल घरायसी कामले काठमाडौं जानु परेकाले भेट भएन । राक्सिराङ–५ का वडाध्यक्ष, गाउँपालिकाका लेखा अधिकृत राजेन्द्र भट्टराई, ओभरसियर उत्तम पौडेलसहितको टोली परेवाभिरमा जम्मा भयो ।

कति भयो त काम ?
परेवाभिरमा बेसमेन्टबाट ८ मिटर माथि बाटो बनाउने ठेक्का हो । यो ३ सय २० मिटरको हुनेछ । कामको ५० प्रतिशत भइसकेको पौडेलले जानकारी दिनु भयो । निर्माण कम्पनीले न १ करोड ९० लाख भुक्तानीको दाबी गरिसकेको छ । धमाधम काम भइरहेको छ ।

सकिएला असार अगाडि
वर्षायाम आउनै लागेको छ । पानीको सतहबाट वाल लगाउने कठिन काम सकेलगत्तै बाँकी काम सहजै हुने ओभरसियर पौडेलको भनाइ छ । काम चाँडो होस्, यो वर्ष कोही जनता भिरबाट हिँड्न नपरुन्, लडेर नमरुन्, प्रदेश सांसद ओम घलानको निर्देशनात्मक सुझाव थियो । घलान स्थानीय पनि हुन् ।

‘बजेट नपुगेको अथवा कुनै काम चाँडै गराउन पहल गर्नु पर्ने भए जानकारी पाउँ,’ आफ्नो राजनीतिक मुद्दा मात्र होइन, मुद्दामा जित नै हात पारिरहनु भएका सांसद विरोध खतिवडाले भन्नुभयो, ‘समयमा काम सकियोस्, वर्षामा आउने बाढीले अधुरो योजनालाई क्षति नपुगोस्, जनताले काम भएको महसुस गरुन् ।’

त्यहाँ बाटै बन्दैन भनेर प्राविधिकको सुझाव भन्दै परेवाभिरमा बाटो बनाउन अनिच्छुक देखिनुभएका मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार तथा योजना मन्त्री रामेश्वर फुयाँललाई पनि स्थानीयले परेवाभिर अनुगमन गर्न, आवश्यक सहयोग गर्न अनुरोध गरेका छन् । पानीको सतहबाट ११ मिटर माथि ३ सय २० मिटर सडक बन्दा पश्चिम मकवानपुरका आधा जनसंख्या खुशी हुने यो योजनाले विरोध खतिवडा, ईन्द्र बानियाँ, ओम घलान, राजकुमार मल्लको राजनीतिलाई कुनै घाटा छैन ।

त्यही बाटो बाल्यकालमा चार हात पाउ टेकेर हुर्किएको म, प्रदेश सांसद ओम घलान, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल अझै पनि एउटा जिज्ञासा बोकेर बसिरहेका छौँ: ५१ अर्ब रुपैयाँको बजेट भएको प्रदेश सरकारलाई कसको रिसले परेवाभिरजस्तो सामाजिक राजनीतिक विषयमा पक्षपात गरिरहन मन लाग्यो ?
तस्बिरहरु: राजाराम बोगटी