हेटौंडा, बैशाख ३ ।
एक महिनामा नेपालमा ११.३७ प्रतिशतले कोरोना संक्रमितको संख्या बढेको पाइएको छ । गत चैत महिनाको १ गते देखि बैशाख महिनाको १ गतेसम्मको कोरोना संक्रमणको तथ्यांकलाई हेर्ने हो भने ११.३७ प्रतिशतले बढेको पाइन्छ ।
गत २०७७ चैत १ गते नेपालमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।यसको एक महिनामा अर्थात् २०७८ को बैशाख १ गते ६०३ जनामा संक्रमण देखियो । चैत एक गते ५३ जनामा संक्रमण देखिएकोमा चैत ५ गते १०७ जनामा संक्रमण भयो । त्यसको ४ दिन पछि चैत ९ गते १५० जना संक्रमित भए ।
यस्तै चैत १७ गते आइपुग्दा १६७ जनामा संक्रमण देखियो भने चैत २१ गते १२८ जना तथा २३ गते २६६ जनामा संक्रमण पुष्टि भयो । यसैगरि चैत २७ गते आइपुग्दा २८८ जनामा संक्रमण देखियो ।
यसैगरि चैत ३० गते ४९६ जनामा संक्रमण देखियो जवकी चैत २८ गते ३३७ जनामा संक्रमण देखिएको थियो । बैशाख दुई गते सम्म आइपुग्दा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगिसकेको छ । यसरी दिन दुगुणा र रात गुणाले कोरोना संक्रमण बढेको पाइयो ।
एक महिनामै यतिका संख्यामा कोरोनाका संक्रमित भेटिनुले नेपालमा कोरोना फैलने उच्च जोखिमको संकेत गरेको देखिन्छ । आम मानिसले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गर्नु अति आवश्यक देखिएको छ । पछिल्लो समय खुल्ला सिमाना रहेको भारतमा संक्रमण दर उच्च भएको कारण पनि नेपालमा कोरोनाको जोखिम निकै रहेको अनुमान लगाउन सकिन्छ ।
कोरोनाबाट बचन तथा बचाउन अनुशासित हुनुपर्ने स्वास्थ्य विज्ञहरु बताउँछन् । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाई स्वास्थ्य अनुसाशनको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिनुहुन्छ । अहिले आम मानिसमा मास्क लगाउने, सेनिटाइजर तथा पञ्जा लगाउने, दुरी कायम गर्ने जस्ता वानीहरु हट्दै गएको उहाँको भनाई छ ।
अव व्यक्ति आफैँ सचेत र सजक भई दैनिकि अघि बढाउनुको विकल्प छैन । “म, मेरो स्वास्थ्य प्रति म आफैँ जिम्मेवार छु ”भन्ने भावनालाई व्यवहारत् लागु गर्नु अहिलेको आवश्यकता हो ।
महामारी फैलन सक्ने यस अवधिमा बालबालिका, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरु लगाएतको सेवा र सुरक्षामा विषेश ध्यान दिन जरुरी छ ।