हेटौंडा, ३ वैशाख । एकाबिहानै हेटौंडा अशान्त भएको छ । कलेजमा बम राखिएको हल्लासँगै हेटौंडा स्कुल अफ म्यानेजमेन्टको पढाइ प्रभावित हुँदा हजारौँ विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् ।

क्याम्पसको पुरुष शौचालयमा बाकस जस्तो देखिने तार निस्किएको शंकास्पद बस्तु फेला परेपछि कलेज परिसरमा बम राखिएको हल्ला चलेपछि दिवा कक्षाका विद्यार्थीलाई कलेज नआउन कलेज प्रशासनले खबर गरेको थियो ।

मकवानपुरका डिएसपी जयश्वर रिमालका अनुसार, बिहान ७ बजेर ४५ मिनेटतिर क्याम्पसमा बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको खबरपछि प्रहरी परिचालन भएको हो । सेनाको डिस्पोजल टोलीलाई बोलाइएको एसपी सोमेन्द्र सिंह राठौरले बताउनु भयो । कलेजका प्रिन्सिपल पुरणबहादुर जोशीले आफू हेटौंडा बाहिर रहेको बताउनु भयो ।

शैक्षिक संस्थामा एकाबिहानै मच्चाइएको आतंकको जति निन्दा गरे पनि कम हुन्छ । कोरोनाले शिक्षालय बन्द हुने हल्लाले मानसिक तनावमा परेका विद्यार्थीहरुलाई बम आतंकले थप तनाव मात्र दिएको छैन, हेटौंडालाई अशान्त पार्ने प्रयास भइरहेको अनुमान पनि गर्न सकिन्छ ।