हेटौंडा, १ बैशाख ।
आज नयाँ वर्ष । २०७७ सालको विदाइ भएर आजबाट २०७८ सालको शुरुवात भएको छ । कोरोना कहरकाबिच शुरु भएको नयाँ वर्ष नेपालीहरूले हर्षोल्लासका साथ मनाएका छन् । नयाँ वर्ष मनाउन मकवानपुरका पर्यटकीय क्षेत्रहरूमा आज सर्बसाधारणको भीड लागेको थियो ।
हेटौंडा–११ स्थित सहिद स्मारक र मकवानपुरगढी गाउँपालिस्थित मकवानपुरगढी हेटौंडा ९ स्थित कुष्माण्ड सरोवर त्रिवेणीधामलगायतका स्थानमा नयाँ वर्ष मनाउनेको भिड लागेको थियो । मकवानपुरमा नयाँ वर्ष मनाउनका लागि चितवन, बारा, पर्सा, रौतहट, सिन्धुली सर्लाही महोत्तरीलगायतका जिल्लाबाट मानिसहरु आएका थिए ।
सहिद स्मारकमा सवारी र मानिसको भिडभाड बढेकोले हेटौंडा–११ बाघथलीबाट नै कडाई गर्नु परेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताउनुभयो ।
यता हेटौंडा ९ स्थित कुष्माण्ड सरोवर त्रिवेणीधाम क्षेत्रमा पनि आज बिहानदेखि साँझसम्म आवतजावत गर्नेहरुको भीडभाड रहेको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले बताउनुभयो ।