हेटौंडा, १ बैशाख ।
मकवानपुरका कोरोना संक्रमित ७ जना पत्रकारले कोरोना बिमा बापतको रकम पाप्त गरेका छन् । गत २०७७ सालको विभिन्न मितिमा फ्रन्टलाईनमा रही काम गर्ने ७ जना पत्रकारलाई कोरोना संक्रमण भएको थियो । उनीहरुले कोरोना संक्रमित भई कोरोना बिमा बापत पाउनुपर्ने १ लाख रुपैयाँ पाएका हुन् ।

आज पत्रकार महासंघ मकवानपुरको सभाहलमा आयोजना गरिएको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम मार्फत कोरोना बिमा बापत पाउने १ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

कोरोना बिमा बापत रकम पाउनेहरुमा पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, सचिव गणेश दर्पण अधिकारी, महासंघ पुर्व सदस्य सुजन विडारी, केन्द्रीय पार्षद राजन दाहाल, महासंघ सदस्य जीवराज बख्रेल, अनिष लुइँटेल र सहनशीला ढकाल रहेका छन् ।