हेटौंडा, ३० चैत । भारतीय महावाणिज्यदूतावासका कन्सुल शैलेन्द्र कुमारले भारत छिमेकी देशहरुसँग अशल मित्रता र सद्भावमै सबैको भलो हुने बताउनु भएको छ ।

एउटा अनौपचारिक भेटघाटका क्रममा हेटौंडा आउनु भएका शैलेन्द्र कुमारले भारतले दोस्रो चरणमा उपलब्ध गराउने भनेको कोभिड खोप पनि तत्कालै उपलब्ध हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘केही प्राविधिक कारणले कच्चा पदार्थ आयातमा ढिलाइ भएकाले उत्पादनमा ढिलाइ हुँदा नेपाललाई दिने भनिएको औषधि उपलब्धतामा सुस्तता देखिएको मात्र हो, उत्पादनपछि भारतको पहिलो प्राथमिकता नेपाल नै छ ।’

अर्को एउटा प्रसंगमा उहाँले भन्नु भयो, ‘भारतले दिने सहयोग, साथमा कमी छैन, तर केही भ्रम सिर्जना भएका छन्, गराइएका छन्, यसमा हामीले पनि समीक्षित हुनु पर्छ कि, हाम्रो डेलिभरी राम्रो भएन या राम्रो डेलिभरीलाई छोपछाप पार्न अरु कसैले खेलिरहेका छन् ।’

कन्सुल शैलेन्द्रले भन्नु भयो, ‘हामी भारतको ७५ औँ गणतन्त्र दिवस मनाउने तयारीमा छौँ, नेपालमा पनि ७५ सातासम्म विभिन्न मैत्रीपूर्ण कार्यक्रमहरु गर्ने सोचमा छौँ, कोरोनाले केही समस्या हुन सक्छ, उसै पनि कोरोनाका कारण भारत सरकारले जनमुखी सेवामा छुट्याएको २ हजार ५ सय करोड रुपैयाँको कार्यक्रम कोरोनाकै कारण रोकिएको छ ।’ उहाँले भारत युवा पुस्ता जोडिएको खेलकुद, सामाजिक कार्यसँगै सञ्चारसँग सहकार्य गरेर अघि बढ्ने बताउनु भयो ।

कन्सुल शैलेन्द्र कुमारलाई नेपाल भारत विश्वमैत्री संघका कोषाध्यक्ष प्रवीन मैनाली, केन्द्रीय सदस्य सुनील दाहाल, राजाराम बोगटीले स्वागत गर्नु भएको थियो । कन्सुल शैलेन्द्र कुमार मकवानपुर गढी दरबार अवलोकनमा पुग्नु भएको थियो । साँझ भएको अनौपचारिक छलफलमा उहाँलाई नेपाल भारत मैत्री संघका केन्द्रीय सदस्य बबिन लिगल, मकवानपुर अध्यक्ष राजकुमार जोशी, नेपाल पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम, शक्ति एफएमका रामकुमार एलन, आकाशगंगा एफएमका गंगा पौडेल, लालखबर डटकमका राज सापकोटा, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीलगायतको सहभागिता थियो । तस्बिरहरु: रवीन्द्र गौतम