हेटौंडा, २९ चैत । मकवानपुरका दुई प्रगतिशील कविबीच फेसबुकमा जुहारी देखिएको छ । आर. आर. चौलागाईं र इन्द्रजीत शर्मा चौलागाईंबीच यस्तो प्रतिक्रिया हानाहान देखिएको हो ।
एक वर्षअघि नै आर.आर. चौलागाईंले फेसबुकमा लेख्नु भएको आत्मकथाको अंंशमा जोडिएपछि अर्का कवि इन्द्रजीत शर्माले प्रतिक्रिया दिनु भएको हो । कथामा आर.आर.ले इन्द्रजीतलाई क्रान्तिकारिता धूलोपिठो भयो कि भनेर कटाक्ष गर्नु भएको छ । त्यसैको प्रतिक्रियामा इन्द्रजीतले आर.आर.को आत्मकथाको कमेन्ट बक्समै जवाफ दिनु भएको हो । दुवै साहित्यकारको भावना यहाँ पेश गरेका छौँ ।
यो २०५४ असार महिनातिरको कुरा हो । त्यो वर्ष नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा द्वितीय भएको थिएँ । कवितामा त्यति ठूलो पुरस्कार मकवानपुरको इतिहासमा अरू कसैले पनि पाएका थिएनन् । गुरुजन, साथीभाइ, शुभचिन्तक र आफन्तहरूको बधाई र सम्मान खाँदाखाँदा म फुरुङ्ङ थिएँ । ज्यादै उत्साहित भएको थिएँ ।
एकदिन काम विशेषले हेटौँडा नगरपालिका (हालः उपमहानगरपालिका) गएको थिएँ । त्यहाँ कार्यरत मेरा मित्र अधिवक्ता बी. के. महर्जनले भेट्नासाथ हात मिलाएर बधाई दिनु भयो । त्यहाँ थरले भाइ नाता पर्ने कवि इन्द्रजीत शर्मा चौलागाईं पनि थिए । मैले कविता महोत्सवमा भाग लिएकोमा उनले ठूलो आपत्ति जनाए र यसो पनि भन्न भ्याए, ‘आर. आर. दाइ, म तपाईँलाई बधाई दिन्नँ । किनभने तपाईँले कम्युनिस्ट भएर बुर्जुवाहरूले आयोजना गरेको प्रतियोगितामा भाग लिनु भयो र प्रतिक्रियावादीहरूको नाइके राजाबाट पुरस्कार पनि थाप्दै हुनुहुन्छ । मलाई तपाईँको यो काम पटक्कै मन परेको छैन । तपाईँले यो पुरस्कार बहिष्कार गर्नुपर्छ । सक्नुहुन्छ ?! ती भाइ त्यतिबेला युध्दरत माओवादी पार्टीमा संलग्न थिए रे । मैले त्यस्तै सुनेको थिएँ ।
भाइ इन्द्रजीत र मित्र बी. के. महर्जनका बीचमा एक छिन त्यहाँ भनाभन पनि भयो । मैले ती भाइलाई भनेँ, ‘इन्द्रजीत भाइ, मैले कविता महोत्सवमा कम्युनिस्ट भएर हैन, कवि भएर भाग लिएको हुँ । अनि राजाबाट म त्यो पुरस्कार थाप्छु पनि । यो काम मैले जानेरै गरेको हुँ ।’
अनि यो पनि भनेँ, ‘भाइ, तपाईँ नोटको भोगचलन त पक्कै पनि गर्नुहुन्छ होला । तपाईँले चलाउने नोट नेपाल राष्ट्र बैँकले छापेको नोट हो कि, तपाईँको कम्युनिस्ट पार्टीले छापेर पठाएको नोट हो ? राष्ट्र बैँकले छापेको भए नोटमा राजाको फोटो हुन्छ । तपाईँको पार्टीले छापेको भए तपाईँका नेता प्रचण्डको फोटो हुन्छ । तपाईँजस्तो क्रान्तिकारीले राजा भएको नोट त पक्कै पनि बोक्नुभएको छैन होला । एक पटक हेरौँ न तपाईँसँग भएको नोट ! मलाई असाध्यै हेर्न मन लागेको छ ।’
मैले यति भनेपछि ती भाइ हल न चल भए र ती भाइको बोली पनि बन्द भयो । तिनले खल्तीबाट नोट निकाल्नै सकेनन् । निकालेनन् । अरूअरू कुरा गरेर टारे ।
इन्द्रजीत भाइ, अहिले काठमाडौँमा बस्छन् र नेपाली टेलिसिरियलहरूमा खुब जमेका पनि छन् । चर्चित छन् । स्थापित छन् । उनको प्रगतिमा मलाई गर्व छ । अहिले तिनको त्यो ‘क्रान्तिकारिता’ धुलोपिठो भयो होला कि बाँकी नै छ होला ? म यतिबेलाचाहिँ अनभिज्ञ छु । (लेख्दै गरेको आत्मकथाबाट)
आर.आर. चौलागाईंले फेसबुकमा राख्नु भएको यो आत्मकथामा इन्द्रजीत शर्मा चौलागाईंको प्रतिक्रियाः
१. आदरणीय दाजु तपाईंले सम्झिएको कुरा केही केही सही हो सबै सही होइन ! मेरो आदरणिय क्रान्तिकारी कवि तथा मेरो आदरणीय दाजु म जुन धारको विचारले ओतप्रोत कविता लेख्न धेरथोर बामे सरेको थिएँ भने त्यो तपाईंकै कविता सुनेर र पढेर नै बामे सरेको थिएँ ! २०४२–४३ तिर ! मेरो आदरणीय कविले यो सबै बखान लेखिरहदा आफूले लेखेका सामन्तीलाई चिठ्ठी र जिउँदा मानिसहरु र अरु यस्तै कविता पढे वा सम्झे त अलिकति तपाईं आफैँलाई शरम हुनु पर्ने हो ’
२. जहाँसम्म प्रचण्ड मेरो नेता भन्ने विचार व्यक्त गर्नु भो कुनै दिन थिए होलान् अहिले त मेरो भन्दा मेरो आदरणीय कवि दाजुकै बढी नेता हुन् क्यारे नि त प्रचण्ड ! मैले चार पैसाको लाभ लिएको छैन ! त्यो कुरा पनि भाइलाई के भनें भनेर दोहोर्याएर सम्झिनुस् ! अर्को जहाँ जम्म बोली बन्द भएको हल न चल भएको र अहिले मेरो क्रान्तिकारिता धुलो पिठो भएको भन्ने मेरो आदरणीय कविज्युको आत्मरति बेकारको फोस्रो हो ! इन्द्रजीतको बोली बन्द, हल न चल, र क्रान्तिकारिता धुलो पिठो भयो या पारें भन्ने दुस्वप्न कसैले पनि नदेखेकै भए ठीक हुन्थ्यो ! जन्मिदैदेखि नै रगतमै अन्याय, अत्याचार, दमन, शोषण, भ्रष्टाचार, थिचोमिचोविरुद्ध उभिने तत्वले भरिएर जन्मिएको इन्द्रजीतलाइ टड्कारो देखिने बर्ग सत्रुहरुले मात्र हैन आफ्नै मित्र पंक्तिभित्रै घुसेका नेताका चाकडी र चम्चागिरी गरेर दुनो सोझ्याउन पल्केका चाटुकारहरुले नै पनि सिद्याउने अनेकौं षड्यन्त्रनगरेका हैनन् १ तथापि अहिले सम्म आफ्नु स्वाभिमानपूर्वक परिश्रमको पसिनामा बाँचिरहेको छु ! अनेकौँ तिक्डम गरी राज्य लुटेर ढाडिएको जुका म हैन ! मैले त मेरो आदरणीय कवि र आफूले मानेको आदर्ष पुरुषको त्यस्तो तुच्छ पुरस्कारको लागि किन आफ्नै आदर्श विपरित वैचारिक पतनको मार्ग तिर अघि बढ्नु भो भनेर हित सम्झेर सुध्रिन पुनर्विचार गर्नुहोला भनेर पो भनेको थिएँ ! अन्यथा के पाउनु थियो र मैले ! यहाँको त झन् बेस्सरी चित्त पो दुखेको रहेछ दाजु क्षमा पाऊँ !
३. यस्तो लेखिएको आत्मकथा हैन मेरो आदरणीय कविजी तथा आदरणीय दाजुको लज्जा जनक आत्मरति हो ! षडयन्त्रपूर्वक शत्रुहरुले सिद्याउन सके भने बेग्लै हो नत्र इन्द्रजीत भाइ गल्ने धुलोपिठो हुने र बोली बन्द हुने सम्भाबना नदेख्नु भए हुन्छ । राजतन्त्र र सामन्ती राज्यव्यवस्थाविरुद्ध उभिएर लेख्ने गरेको महान क्रान्तिकारी कवि भनेर नै वीरेन्द्रले पुरस्कार दिएका थिए त मेरो आदरणीय कवि आर. आर. दाजुलाई ?
४.हिजो क्रान्तिकारीको विरोध गर्ने फटाहाहरु अहिले तिनै कथित क्रान्तिकारीको हुक्के ढोके र छाते हुन पाइन्छ कि भनेर हात मोल्दै झिंगा धपाउँदै गरेको पनि दुनियाँले नदेखेको हैन । स्वाभिमान शून्य नाक नभएकाहरुले एक टपरी सत्ताको स्वाद लिन पाइन्छ कि भनेर रुवाबासी राग अलापिरहेछन् । हामीसँग कुनै पनि भ्रष्ट र राष्ट्रघातीहरुसंग गोरु बेचेको साइनो पनि छैन ।
फेसबुकमा पढ्न यहाँ क्लिक गर्नुहोस्ः
https://www.facebook.com/R.R.Chaulagain/posts/10210909901584114