हेटौँडा ,चैत २९
नेपालमा दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयको चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांकले यस्तो देखाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म अर्थात् आठ महिनाको अवधिमा चार हजार ४८३ आत्महत्याका घटना भएका छन् । यो दैनिक १८ जना भन्दा बढी हो । आर्थिक वर्ष ०७६।७७ को सोही अवधिमा तीन हजार ५३४ आत्महत्याका घटना भएका थिए । तुलनात्मक रूपमा चालु आर्थिक वर्षमा आत्महत्यासम्बन्धी घटनाहरू २६।८५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
प्रहरी तथ्यांकमा महिलाभन्दा पुरुषले बढी आत्महत्या गर्ने गरेको देखिएको छ । यसबाहेक पछिल्लो समय बालबालिकाले पनि आत्महत्याको बाटो रोजेको देखिन्छ । तथ्याङ्कमा झुन्डिएर आत्महत्या गर्नेहरु बढी छन् । यसबाहेक खोलामा हामफालेर, विषादी सेवन गरेर पनि आत्महत्या गर्नेहरु बढी छन् ।
प्रहरी अधिकारीहरुका अनुसार नेपाल विश्वमा बढी आत्महत्या हुने देशहरूमध्ये शीर्ष १२ भित्र पर्छ । चालु आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या बढ्नुको पछाडि कोरोना महामारीले उत्पन्न गरेका कारणहरु पनि रहेको प्रहरी अधिकृतहरु बताउँछन् । व्यापारमा घाटा, बैंकको ऋणलगायत कारणले कतिपयले आत्महत्याको बाटो रोजेको देखिन्छ । तर, धेरैजसो आत्महत्यामा सम्बन्धमा भएको प्रेममा धोका, मानसिक तनाव, पारिवारिक तनाव, बेरोजगारी, कमजोर आर्थिक अवस्था मुख्य कारण रहेको पाइएको छ ।