केही दिन अघिसम्म काठमाडौंसहित देशका विभिन्न ठाउँमा बढेको वायु प्रदूषणमा केही सुधार भएको छ । गएराति देशभर हावाहुरीसहित हल्का पानी परेसँगै वायु प्रदूषण केही मात्रामा घटेको हो ।

गएराति काठमाडौंमा पनि फाट्टफुट्ट पानीसँगै हावाहुरी चलेको थियो । शनिबार बिहानदेखि मौसम खुलेको देखिए पनि वायुप्रदूषणमा उल्लेख्य सुधार भने हुन सकेको छैन । वायु प्रदूषण मापन गर्ने आइक्युएअर डटकमका अनुसार हाल काठमाडौंको एक्यूआई १ सय ६६ रहेको छ र विश्वका प्रदूषित प्रमुख शहरहरूको सूचीमा पहिलो स्थानमै रहेको छ । जुन अस्वस्थ वायु प्रदूषणकै तहमा रहेको आइक्युएअरले जनाएको छ । तर यो अस्तिको भन्दा निकै सुधार हो । एक्यूआई ३०० भन्दा बढी हुनु स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।