हेटौँडा, २४ चैत । मकवानुरको मनहरी गाउँपालिका वडा नम्बर १वडा कार्यालय सचिवविहीन बनेको छ । डेढ महिनादेखि वडा कार्यालय सचिवविहीन बनेको हो ।
केही समयअघि स्थानीय एक युवाले वडा सचिव अमिर दाहालमाथि हातपात गरेका थिए । निर्माण कार्यको सिफारिसका लागि वडा कार्यालय पुगेका स्थानीय युवाले वडा अध्यक्ष र सचिवले सिफारिस नदिएका कारण काम सम्पन्न भए पनि भुक्तानी नपाएको भन्दै सचिवमाथि हातपात गरेका थिए ।

यता सचिव दाहालले पनि सोही दिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंलाई सो विषयमा जानकारी दिँदै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिएका थिए । त्यसपश्चात गाउँपालिकाअन्तर्गतका सम्पूर्ण वडाका सचिवहरुले आफ्नो सुरक्षा माग गर्दै पेन डाउनसमेत गरे ।

हाल पीडित सचिव दाहाल र हातपात गर्ने व्यक्तिको मिलापत्रसमेत भइसकेको छ । यद्यपि वडा कार्यालयमा भने आफू फर्किएर नजाने सचिव दाहालले बताउनु भयो । कार्यालयमा वडा सचिव नभएका कारण स्थानीय मर्कामा परेका छन् ।