चैत २२

वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि प्रदेशभित्रका नागरिकलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण दिने भएको छ ।

कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित क्षेत्रहरुमा उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ब्याजदरमा अधिकतम १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन लागिएको वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

कृषि, उद्योग, पर्यटन, व्यापार, वन तथा वातावरण, महिला तथा दलित समुदाय विकास र फोहरमैला व्यवस्थापनमा ऋण प्रवाह हुनेछ । सहुलियत ऋण प्रवाहका लागि वाग्मती प्रदेश सरकारले यो आर्थिक वर्षका लागि तीन अर्ब रुपैयाँ ऋण लगानीका लागि घोषणा गरेको छ ।

यो ऋण पाँच वर्षसम्ममा तिरिसक्नुपर्छ । ऋणको ब्याजदर वार्षिक तीन प्रतिशतभन्दा धेरै नहुने प्रदेश सरकारले जनाएको छ । सहुलियतपूर्ण ऋण लगानीका लागि वाग्मती प्रदेश सरकारले कृषि विकास बैंक र साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्य गरेको छ ।