चैत २२
आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म संघीय संसद्का सांसदहरूले औषधि उपचार खर्चबापत ५४ लाख ६० हजार १६ रुपैयाँ बुझेका छन् ।

संघीय संसद् सचिवालयले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७७/०७८ को चैत्र १५ गते सम्ममा २ सय ६५ जना सांसदहरूले उक्त रकम बुझेका छन्।

आर्थिक वर्ष २०७५/०७६ देखि २०७६/०७७ सम्म कुल २२८ जना सांसदले ३८ लाख ६८ हजार ८१५ रुपैयाँ बुझेका छन् भने आर्थिक वर्ष २०७७/०७८ को चैत १५ गते सम्ममा २७ जनाले १५ लाख ९१ हजार २०१ रुपैयाँ बुझेका छन् ।

सांसदहरूले एकपटकमा न्यूनतम ५ सय रुपैयाँदेखि अधिकतम २ लाख ५६ हजार १४३ रुपैयाँसम्म बुझेको देखिन्छ । कतिपय सांसदले भने पटक(पटक समेत रकम बुझेका छन्।

१ लाख रुपैयाँभन्दा बढी रकम बुझ्ने सांसदहरू ११ जना छन्। दुर्गाप्रसाद उपाध्याय, नविना लामा, मिनाक्षी झा, मीना पाण्डे, नैनकला ओझा, महेन्द्रकुमारी लिम्बू, दलबहादुर राना, शान्तिकुमारी अधिकारी, प्रकाशमान सिंह, रुही नाज र ज्ञानकुमारी छन्त्यालले १ लाख रुपैयाँभन्दा बढी रकम बुझेका छन् ।

नेकपा एमालेकी सांसद शान्ति कुमारी अधिकारीले सबैभन्दा बढी रकम ७ लाख ५२ हजार ३२१ रुपैयाँ बुझेकी छिन् । विभिन्न मितिमा गरेर कुल ८ पटक बिल पेश गरेर उनले उक्त रकम बुझेकी हुन् ।

‘दुवै किड्नी फेल भएका कारण किड्नीको डाइलासिस गराउँदा र अन्त्यमा मिर्गौला प्रत्यारोपण गराउनु पर्दा लाखौं रुपैयाँ खर्च भएको थियो,’ सांसद अधिकारीले भनिन, ‘शुरूमा त्रिभुवन शिक्षण अस्पतालमा डाइलासिस गराएको र पछि वीर अस्पतालमा किड्नी ट्रान्सप्लान्ट गराउनु परेका कारण संसद् सचिवालयबाट उक्त रकम बुझेकी हुँ ।’

बेलाबेला आईसीयूमा भर्ना हुनुपर्ने गरेको सम्झिँदै उनले भनिन्, ुभाग्यले एकजना डोनर भेटेपछि २०७६ मंसिर ४ गते मिर्गौला प्रत्यारोपण गर्न सफल भएकी हुँ । कति खर्च भयो त्यसको त हिसाबकिताब नै गरेको छैन, अहिले पनि औषधि खानुपरेको छ, १र२ महिनामा अहिले पनि डाक्टरकहाँ फलोअप गराउन जानुपर्छ । त्यसैले अहिले पनि औषधि उपचार बापतको खर्च संसद् सचिवालयबाट लिने गरेकी छु।’

नेपाली कांग्रेसकी सांसद मीना पाण्डेले पनि तीनपटक बिल पेश गरेर कुल २ लाख ७६ हजार २१९ रुपैयाँ बुझेकी छिन् । क्यान्सरको बिरामी भएर भक्तपुर अस्पतालमा उपचार गराउनुपरेको हुनाले उक्त रकम लिएको उनले बताइन् ।
‘१ वर्षदेखि यूटेरस, ओभरी, आन्द्राको क्यान्सर छ, शल्यक्रिया गराउनुका साथसाथै १८ वटा किमोथिरेपी गराएकी छु,’ उनले भनिन्, ‘अहिले पनि बेलाबेलामा इमरजेन्सीमा अस्पताल भर्ना हुनुपर्छ।’ सरकारी अस्पतालको बिलको सबै शुल्क दिने भएपनि भक्तपुर क्यान्सर अस्पताल अर्धसरकारी अस्पताल भएको हुनाले आधा मात्र दिने गरेको उनले बताइन् । ‘अहिले कतिपय बिल त पेश गर्न बाँकी नै छ, पेश गरेको बिलको पनि एक तिहाइजति रकम मात्र पाएकी छु,’ पाण्डेले भनिन्, ‘धेरै साथीहरूले सांसद सचिवालयबाट उक्त रकम नलिएर सरकारबाट लिन भनेको थियो, तर मैले त्यसो नगरेकी हुनाले धेरै रकम आफैँले समेत बेहोर्नुपरेको छ।’

नेकपा एमालेकी सांसद नविना लामाले समेत २०७७ असोज २७ गते १ लाख ३७ हजार ६४० रुपैयाँ संसद् सचिवालयबाट बुझेकी छिन् । सुत्केरी हुँदा उपचार खर्चबापत उक्त रकम लिएको उनले बताइन् । आफूले नर्भिक अस्पतालमा भर्ना भएर बच्चालाई जन्म दिएको उनले बताइन् ।

‘सुत्केरीका बेला मलाई कोभिड पोजेटिभ भएको थियो, सोही कारण पनि किन जोखिम लिने भनेर नर्भिक अस्पतालमा भर्ना भएँ,’ लामाले भनिन्, ‘बाबु जन्मिएको १७ दिनसम्म एनआईसीयूमा नै भर्ना हुँदा मेरो र बाबुको गरेर कुल ७ लाख रुपैयाँ खर्च भएको थियो।’

पाल्पाबाट प्रतिनिधित्व गर्ने एमाले सांसद दलबहादुर रानाले समेत १ लाख ३० हजार ७० रुपैयाँ संसद् सचिवालयबाट बुझेका छन् ।

कोरोना संक्रमित भएका कारण उपचार खर्च बापत उक्त रकम बुझेको उनले बताए। सरकारी अस्पतालमा बेड नै नपाएका कारण निजी अस्पतालमा उपचार गराउँदा धेरै खर्च लागे पनि आधा रकम मात्र पाएको उनले बताए । ‘११ दिनसम्म आईसीयूमा नै भर्ना हुनुपरेको थियो, उपचारमा साढे ४ लाख रुपैयाँ खर्च भएको थियो तर सचिवालयले आधा रकम पनि दिएन,’ रानाले भने ।

सांसद सानु सिवाले पटक–पटक गरेर २ लाख ९४ हजार रुपैयाँ बुझेकी थिइन् । उनको निधन भइसकेको छ। त्यसैगरी २०७७ असोज २७ गते १ लाख ८ हजार १७० रुपैयाँ बुझेका सांसद दुर्गाप्रसाद उपाध्यायको पनि निधन भइसकेको छ।

सांसद ज्ञान कुमारी छन्त्यालले विभिन्न मितिमा कुल ३ लाख २४ हजार २८२ रुपैयाँ बुझेकी छिन् ।

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले २०७६ भदौ ३१ गते १ लाख ३२ हजार ७३१ रुपैयाँ, जसपाकी सांसद रुही नाजले २०७६ पुष ६ गते १ लाख ५० हजार रुपैयाँ, नेपाली कांग्रेसकी सांसद मिनाक्षी झाले १ लाख ५८ हजार ३९७ रुपैयाँ बुझेका छन् । महेन्द्रकुमारी लिम्बूले १ लाख ४९ हजार ४६३ रुपैयाँ र नैनकला ओझाले १ लाख ८२ हजार ३८३ रुपैयाँ बुझेका छन् ।

अहिलेका सभामुख अग्निप्रसाद सापकोटाले २०७५ माघ २ गते ६ हजार १०४ रुपैयाँ, पूर्व उपसभामुख एवं हालकी भूमि व्यवस्था मन्त्री शिवमाया तुम्बाहाम्फेले २०७६ माघ २९ गते ५ हजार ८०५ रुपैयाँ र बहालबाला मन्त्री लीलानाथ श्रेष्ठले चारपटकमा २२ हजार ६२० रुपैयाँ बुझेका छन् ।

यसरी विभिन्न मन्त्रीदेखि संघीय संसद्का पदाधिकारीसम्मले समेत उपचार खर्चबापत रकम बुझेका छन् ।

संघीय संसद् सचिवालयका सूचना अधिकारी धमला भने ऐनबमोजिम सांसदको सुविधा अन्तर्गत कानूनसम्मत ढंगले नै उक्त रकम भुक्तानी गरिएको बताउँछन् ।

संसद् सचिवालयमा वीर अस्पतालका तीनजना चिकित्सक सम्मिलित मेडिकल बोर्ड छ। ‘उक्त बोर्डमा माननीयज्यूहरूले चिकित्सकको प्रेस्क्रिप्सन तथा औषधि उपचारको बिल पेश गर्नुहुन्छ,’ धमलाले भने, ‘उक्त बोर्डले गर्ने मूल्यांकनको आधारमा नै उक्त रकम भुक्तानी हुने गर्छ ।’

सरकारी अस्पतालको बिलको शतप्रतिशत र निजी अस्पतालको ५० प्रतिशत रकम त्यो पनि बोर्डले मूल्यांकन गरेको आधारमा मात्र भुक्तानी हुने गरेको उनले बताए।

चस्मा जाँच गराउँदा वा चस्मा किन्दा १ हजार रुपैयाँ, दाँतको उपचार गराउँदा एकपटकमा ७ सय रुपैयाँ समेत दिने गरिएको छ ।

‘उक्त रकम दिनेबारे ऐनमा नलेखिएको भए पनि पहिलेदेखि नै दिँदै आएको परम्पराका आधारमा दिने गरिएको छ,’ धमलाले बताए।

उपचार खर्चबाहेक औषधि समेत लिन्छन् सांसद :

कतिपय सांसदहरूले बाहिर उपचार गराएपछि बिल पेश गरेर भुक्तानी लिने गरेका छन् भने कतिपय सांसदले नियमित महिनारमहिनामा औषधि नै संसद् सचिवालयबाट लिने गर्छन् ।

संघीय संसद् सचिवालयमा रहेको स्वास्थ्य इकाइ कमिटीमा नै पुगेर सांसदहरूले नियमित चेकजाँच गराउने तथा औषधि लिएर जाने गरेका छन् । उक्त स्वास्थ्य इकाइ कमिटीका हेल्थ असिस्टेन्ट कृष्णकुमार खत्रीका अनुसार संघीय संसद्का करीब ४० प्रतिशत जति सांसदहरूले नियमित रूपमा मधुमेह, रक्तचाप लगायतको औषधि प्रत्येक महिना लिएर जाने गर्छन् ।

केही पूर्व प्रधानमन्त्री पनि नियमित औषधि लिने गरेको उनले बताए। ‘संसद् चलेको बेला प्रायःजसो सांसदहरू मधुमेह, रक्तचापको जाँच गराउनुहुन्छ,’ उनले भने,‘अन्य समयमा भने संख्या कम हुन्छ।’ रुघाखोकी, ज्वरो, ग्यास्ट्राइटिस, टाउको दुख्ने आदिको औषधि समेत सांसद लिने गर्नु हुन्छ।’

प्रत्येक वर्ष औसतमा २० लाख रुपैयाँ जतिको औषधि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालकमा खर्च हुने गरेको उनले बताए।