हेटौँडा, ७ चैत । प्रहरीले वडाध्यक्षलाई समात्न सक्ला कि नसक्ला ? वडाध्यक्षहरु यसै पनि शक्तिशाली स्थानीय सरकारका बलशाली अंग हुन् । तर जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा ।

स्थानः जिल्ला प्रशासन कार्यालय मकवानपुर
मितिः २०७८ चैत ६ गते आइतबार
मुद्दाः हेटौँडा–८ स्थित वडा कार्यालय तोडफोड गर्नेहरुलाई कारबाही गरिपाउँ भन्ने ।

वादीः एमालेको सदस्यता लिन्छु भनेपछि घरै बोलाएर खानेपानीको सिफारिस दिइएको आरोप लागेका वडाध्यक्ष गोपाल श्रेष्ठ
प्रतिवादीः नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस, नेकपा माओवादी

मकवानपुरका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएपछि सबै पुगे ।

त्यहाँ वडा नम्बर ८ का वडाध्यक्ष गोपाल श्रेष्ठको रटान थियो, राष्ट्रधन तोडफोड गर्नेहरुलाई हदैसम्मको कारबाही गरिपाउँ । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठलाई गठबन्धनका राजनीतिक दलहरुको ३ वटा संगीन आरोप थियो ।

आरोप १ः १२ जनाले खानेपानीको सिफारिस माग्दा एमालेको सदस्यता लिन्छु भनेपछि ३ जनाले मात्र सिफारिस पाए ।
आरोप २ः विपन्न परिवारलाई बाँडिने १० हजार रुपैयाँमा वडाअध्यक्षले मनोमानी गरे ।
आरोप ३ः प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटमा मेसिन लगाउन पाइँदैन, जनश्रम नै गरिनु पर्छ । तर मेसिन प्रयोग गरेर रकम बाँडचुँड भयो ।

वडाध्यक्षमाथि व्यक्तिगत कुनै आरोप, आरिस, कुण्ठा थिएन । त्यही मुद्दा लिएर गएका गठबन्धनसँग कुरा गर्नु पर्नेमा वडामा वडाध्यक्ष नभेटिएपछि आक्रोशितले कुर्सी जलाए, वडा कार्यालय तोडफोड गरे । वडाध्यक्षले लेटरप्याडमा लेखेर रिस साध्न जेष्ठ नागरिक वैकुण्ठ सापकोटालाई पक्रन लगाए । जबकि, वडा कार्यालय तोडफोड गर्ने को को हुन् भनेर श्रेष्ठलाई जानकारी थियो । श्रेष्ठले रिस फेरे एकीकृत समाजवादीका जिल्ला सदस्य भएका सापकोटालाई । प्रहरीले सापकोटालाई नियन्त्रणमा पनि लियो ।

यही विषयमा छलफल भनेर सिडियो कार्यालयबाट फोन आएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष श्रीधर पोखरेल नै सिडिओ कार्यालय पुगे । त्यहाँ देखिए एमाले हेटौँडा नगरसचिव बोलबहादुर कार्की । पोखरेलले भनिहालेः पार्टी अध्यक्षहरु आउँछ भनेर पो म आएको, ल हाम्रो पार्टी नगरसचिव देवराज गौतमसँग छलफल गर्नुहोस् भन्दै अध्यक्ष पोखरेलले आफ्ना नगर सचिवलाई कुर्सीमा राखेर हिँडे ।

नेपाली कांग्रेसबाट गएका थिए सचिव भीमसेन महत । महतले पनि गठबन्धनको कुरा यस्तो हो, वडाध्यक्षबाट गम्भीर भूल भएको छ, उनले माफी माग्नु पर्छ भन्ने कुरा चर्कैसँग राखे ।

तर उस्तै परे यो घटनामा तोडफोड गर्नेसँग प्रतिवादमा उत्रन्छ भनेर युवा संघ उचालेर हेटौँडामा मूठभेडका लागि तयार भएको एमाले किन कमजोर हुने ? वडाध्यक्ष श्रेष्ठले राज्यको सम्पत्ति तोडफोड र आगजनी गर्नेलाई छाड्न हुन्न भन्न थाले ।

यो भलिभाँतीको कुरा सुनेपछि एसपी सुरेन्द्र गुरुङ बोल्न थालेः तपाईंले उजुरी गर्नु भयो, उजुरीअनुसार हामी सबै समातिदिउँला । कारबाही गरिदिउँला । उहाँहरुको पनि उजुरी छ । तपाईंविरुद्ध उजुरी भएपछि तपाईंलाई पनि समातौँ न त भनेर गुरुङले भनेपछि वडाध्यक्ष श्रेष्ठले भने, ‘मबाट पनि केही भूलहरु भए, सबैले आत्मालोचना गरौँ ।’

यसपछि विवाद साम्य भएको हो वडा नम्बर ८ को कार्यालय तोडफोड केसको ।

यस्ता वडावाला घटनाहरु अरु धेरै वडामा पनि पर्ने र कुनबेला झडप सामना गर्नु पर्ने हो भन्ने अनुमान सुरक्षा संयन्त्रमा देखिएको छ । गठबन्धन दलहरु मुद्दा उठाउने पक्षमै छन्, एमाले पनि प्रतिवाद गर्ने भनेर उत्रिएको छ । शान्तिपूर्ण रुपमा सम्वाद गरेर विवाद समाधानमा दलहरु संवेदनशील नभए कुनै अप्रिय घटना पो होला कि ? यसको पनि त्रास बढेको छ सर्वसाधारणमा ।

यो पनि पढ्नुहोस्ः