हेटौँडा, ४ चैत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा नेपाली कांग्रेसभित्र उम्मेदवारको चर्चा चुलिएको छ । २०७४ को निर्वाचनमा झिनो मतले एमालेसँग पराजित कांग्रेस यसपटक मनहरीमा आफ्नो नेतृत्व स्थापित गर्ने प्रयासमा छ ।
त्यतिखेर एमाओवादी र कांग्रेसको गठबन्धन हुन पाएको भए सजिलै गाउँपालिका जित्ने अवस्थामा रहेको कांग्रेस अहिले मनहरीमा आफूलाई पहिलो पार्टीको रुपमा स्थापित भएको दाबी गर्दछ । दोस्रो तर कांग्रेसकै हाराहारीमा जनमत रहेको दाबी छ नेकपा माओवादी केन्द्रको पनि । एमाले तेस्रो स्थानमा पुगेको छ भने मकवानपुरमै सबैभन्दा ‘राम्रो पोजिसन’ रहेको दाबी छ एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) को पनि ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नै भन्नु भएको छ, ‘गठबन्धनको विरोध नगर्नू ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहालले भन्नुभएको छ, ‘स्थानीय तह निर्वाचनमा दोस्रो भएकालाई स्पेस दिन सकिने गरी तालमेल गर्नुपर्छ ।’ झट्ट सुन्दा यसको अर्थ हुन्छ, मनहरीमा कांग्रेसलाई दिन कांग्रेस–माओवादी–समाजवादी गठबन्धन तयार हुनुपर्छ । तर यो माओवादी र कांग्रेसको हकमा मात्र हो । जहाँ एमालेले जितेको थियो, त्यो ठाउँमा यी तीनै पार्टीको अवस्था अनुसार दाबीका लागि गठबन्धनमा सहमति जुटेकाले माओवादीको दाबी स्वाभाविक छदैँछ । उसो त पछिल्लो समय समाजवादी पनि मनहरीमा आफ्नो नेतृत्वमा सबैलाई समेटेर लैजान तयार छ । यसका लागि साझेदार दल नेकपा माओवादीले ग्रिनसिग्नल दिएकाले समाजवादी मनहरीमा अध्यक्षको नेतृत्वमा सबैलाई समेटेर लैजान तयार रहेको बताइएको छ ।
कांग्रेसका लागि मनहरी भाग पर्ला–नपर्ला भन्न सकिन्न । किनभने मकवानपुरमा एमालेले जितेका चार स्थान हेटौँडा, मनहरी, भीमफेदी र मकवानपुर गढीमध्ये कांग्रेसको पहिलो रोजाइ हेटौँडा रहेको छ । हेटौँडा लिँदा अर्को उस्तै भूगोल मनहरी कांग्रेसको भागमा नपर्न पनि सक्छ ।
यद्यपि कांग्रेसबाट मनहरीमा अध्यक्षमा तीनजनाको दाबी छ । अघिल्लो स्थानीय तह निर्वाचनमा झिनो मतले पराजित शंकर न्यौपाने यसपटक पनि मनहरीमा अध्यक्षका स्वाभाविक आकांक्षी हुनुहुन्छ । नेपाली कांग्रेस मकवानपुरको जिल्ला समितिमा पनि शंकर पक्षधरको पल्लाभारी नै छ । उहाँलाई इन्द्र बानियाँ समूहले चाहेर पनि पाखा पार्न कठिन नै छ ।
यस्तै, अर्का नेता भरत पराजुलीले त केहीदिन भएको वडाको कार्यक्रममा अध्यक्षको उम्मेदवारी नै घोषणा गर्नु भयो । उहाँले अहिलेसम्म कुनै लाभको पद नमागेको र यसपटक आफू अध्यक्षको उम्मेदवार हुने बताउनु भएको छ ।
गाउँपालिका अध्यक्षकै अर्का उम्मेदवार हुनुहुन्छ नेपाली कांग्रेस प्रदेश ख सभापति रञ्जन कालाखेती । नेपाली कांग्रेसका प्रभावशाली नेता ईन्द्र बानियाँ समूहसँग व्यापारिक कारोबारमा पनि सहभागी कालाखेती यसपटक आफू सभापति हुनु पर्ने भन्दै पार्टीमा लबिङमा हुनुहुन्छ । तत्कालीन जिल्ला सभापति बानियाँले भनेअनुसार पश्चिम मकवानपुरमा कांग्रेस नेतृत्व स्थापित गर्न आफू लागेको र टिकट पाउनेमा विश्वस्त पनि देखिनु भएको छ । वडास्तरीय कार्यक्रमहरुमा सक्रियता बढाउनु भएको छ ।
कांग्रेसबाटै पालिका अध्यक्षको अर्का आकांक्षी मानिएका नेपाली कांग्रेस मनहरीका सभापति प्रकाश बर्तौला भने अध्यक्षको दौडबाट बाहिर हुनुहुन्छ । पश्चिम मकवानपुरको व्यापार व्यवसायमा फरक पहिचान बनाउनु भएका बर्तौला एकाएक नेपाली कांग्रेस मनहरीको सभापतिमा विजयी हुनु भएपछि अध्यक्षको पनि स्वाभाविक उम्मेदवार भनेर चर्चा भए पनि आफू अध्यक्षको दौडमा नरहेको बताउनु हुन्छ । पार्टीलाई जिताउने आफ्नो अभिभारा रहेको र पार्टी तथा गठबन्धन भएमा हुने कार्यमा साथ दिने बताउँदै बर्तौलाले यसपटक आफू उम्मेदवार नभएको बताउनु भयो । भरत पराजुलीबाहेक अरुले सार्वजनिक रुपमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छैनन् । कांग्रेसले आफूखुशी उम्मेदवारी चर्चा नगर्न–नगराउन ह्वीप जारी गरेको छ । तर भित्रभित्रै नेताहरुको लबिङ राम्रै छ ।
मनहरीका २६ हजार मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा एमालेले ४ हजार ६ सय को हाराहारीमा मत ल्याएर कांग्रेसलाई जितेको हो । यसपटक गठबन्धनमा तीन वटा दल मिले एमालेविरुद्ध गठबन्धन हुनेछ जितका लागि १२ हजारको हाराहारीमा मत ल्याउनु पर्नेछ । यस्तै, कांग्रेसले छुट्टै उम्मेदवारी दिने अवस्था आए एमाले–माओवादी–समाजवादी र कांग्रेसबीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ । यसो हुँदा कम्तीमा ७ हजार मत ल्याउनु पर्ने देखिन्छ ।